राष्ट्रिय सभा उपाध्यक्ष र चीनका राजदूतबीच भेटवार्ता 

नेपाल एक चीन नीति प्रति प्रतिबद्ध 


काठमाडौँ। 

 राष्ट्रिय सभाका उपाध्यक्ष लीला कुमारी भण्डारीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत चाङले बिहीबार सिंहदरबारस्थित उपाध्यक्ष भण्डारीको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबिचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो।

 भेटमा उपाध्क्ष भण्डारीले नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याउनुभयो। ‘हामी एक चीन नीतिप्रति सधै प्रतिबद्ध छौ।’ उहाँले भन्नुभयो‘हामी हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन दिने छैनौं’ ‘ नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति चीनले दर्शाउँदै आएको सम्मानलाई नेपालले सधैं उच्च महत्व दिएको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने चर्चा गर्दै उपाध्यक्ष भण्डारीले चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको र  आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास पनि व्यक्त गर्नुभयो।

 चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल एक आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको चर्चा गर्दै उपाध्यक्ष थापाले थप चिनियाँ लगानी आकर्षित तथा सहजीकरण गर्न नेपालले आफ्ना नीतिहरूलाई व्यवसायमैत्री र लगानीमैत्री गर्ने दिशामा सक्रियतापूर्वक कार्य गरिरहेको जानकारी पनि गराउनुभएको थियो। हामी बेल्ट एन्ड रोड इनिसिएटिभ्स फ्रेमवर्क अन्तर्गत सहमति भएका परियोजनाहरूका साथै अन्य सहयोग परियोजनाहरूको कार्यान्वयनको गतिलाई तीव्रता दिन चाहेको पनि उपाध्यक्ष भण्डारीको भनाई थियो । 

सो अवसरमा राजदूत चाङले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताउनुभयो।  दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबिचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको पनि उहाँको भनाई थियो। नेपालमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको पनि बताउनुभयो ।