भेरी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार प्रयासपछि सेवा प्रभावित


काठमाडौँ

बाँकेको भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपातको प्रयास, दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिइएको घटनापछि अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। दोषीमाथि तत्काल कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएसम्म नियमित सेवामा फर्किन नसकिने उनीहरूको अडान छ।

मंगलबार बिहान करिब साढे १० बजे एक समूह अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीको कार्यकक्षमा प्रवेश गरी हातपातको प्रयास गरेको अस्पताल प्रशासनले जनाएको छ। सो समूहले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेसहित अन्य चिकित्सकमाथि अपमानजनक व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिएको आरोप छ।

उक्त घटना बाँकेको बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया दिलसरा विकको मृत्यु प्रकरणसँग जोडिएको बताइएको छ। वैशाख ६ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी विकको वैशाख १३ गते मृत्यु भएको थियो। उपचारप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिहरूले चिकित्सकमाथि आक्रोश पोखेको जनाइएको छ।

प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले उपचारका क्रममा बिरामीको मृत्यु हुनु दुःखद भए पनि असहमति भए कानुनी बाटो खुला रहेको उल्लेख गर्दै चिकित्सकमाथि आक्रमण प्रयास हुनु अस्वीकार्य रहेको बताउनुभयो। “स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले मनोबल खस्किन्छ र अस्पतालमा त्रासको वातावरण सिर्जना हुन्छ,” उहाँले भन्नुभयो, “दोषीमाथि कारबाही र सुरक्षाको ग्यारेन्टी नभएसम्म सेवामा फर्कन सकिँदैन।”

उहाँका अनुसार हाल इमरजेन्सी सेवाबाहेक अन्य सबै सेवा स्थगित गरिएको छ। यसले बिरामीहरूको उपचारमा प्रत्यक्ष असर परेको छ।

प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले पनि चिकित्सकहरू त्रासमा रहेको बताउँदै हिंसात्मक व्यवहार कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। “उपचारमा कमजोरी देखिए कानुनी प्रक्रिया अपनाउन सकिन्छ, तर आक्रमण प्रयास निन्दनीय छ,” उहाँले भन्नुभयो, “यदि चिकित्सक दोषी ठहरिए कानुनअनुसार कारबाही भोग्न तयार छौं।”

यसैबीच, प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको सहजीकरणमा सोमबार चिकित्सक र मृतकका आफन्तबीच छलफल भएको थियो। उक्त छलफलमा उपचारमा संलग्न चिकित्सकमाथि कानुनी प्रक्रिया अघि बढाउने तथा शव पोस्टमार्टम गरी आफन्तलाई बुझाउने सहमति भएको बताइएको छ। सोहीअनुसार पीडित परिवारले प्रहरीमा जाहेरीसमेत दिएको थियो।

तर सहमति भइसकेपछि पनि मंगलबार अचानक एक समूह अस्पताल प्रवेश गरी आक्रमणको प्रयास गरेको चिकित्सकहरूको भनाइ छ। मृतकका छोरा सुरेश विकले भने आफूले कुनै हातपात नगरेको दाबी गर्नुभएको छ र शव बुझेर लगिसकेको जानकारी दिनुभयो।

घटनापछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। चिकित्सकहरूले सुरक्षाको प्रत्याभूति, दोषीमाथि कडा कारबाही तथा स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरणको माग गरेका छन्। स्थानीय प्रशासनले घटनाबारे छानबिन सुरु गरेको जनाएको छ।