फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

नागरिक पीडामा


काठमाडौं ।

बालेन शाह सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक सवारीसाधनको भाडादर समायोजन गर्ने क्रममा भाडा पुनः बढेको हो । अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले भाडादर समायोजन गर्ने अभ्यास गर्दै आएको छ ।

नयाँ भाडादरअनुसार यात्रुवाहक सवारी र पहाडी बाटो तथा तराईमा सञ्चालन हुने मालवाहक सवारीमा पाँच प्रतिशत वृद्धि गरेको जनाएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्थाअनुरूप पछिल्लो पटक डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपियाँ ८३ पैसा हुँदा वैशाख ३ गते भाडादर समायोजन गर्ने क्रममा भाडा बढाएको थियो ।

पश्चिम एसिया युद्धका कारण पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिसँगै सरकारले दुई पटक सार्वजनिक यातायातको भाडा समायोजन गरिसकेको छ । यातायात व्यवस्था विभागले चैत २५ गते भाडा समायोजन गरेको थियो । त्यसपछि पनि पेट्रोलियम पदार्थको मूल्य थप बढेर आएपछि पुनः बुधबार ढुवानी र यात्रुवाहक दुवैमा ५ प्रतिशत वृद्धि गर्दै भाडा समायोजन गरेको छ ।

यसअघि गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ । त्यसयता दुई पटक इन्धनको मूल्य वृद्धि भई डिजेलमा ५५ रुपियाँ बढी पुगेपछि यातायात व्यवसायीहरूले भाडा पुनः समायोजन गर्न माग गर्दै आएका थिए ।