काठमाडौं ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता आयोजना हुने भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते पुलुमा छायँनाथ अल्ट्रारेस आयोजना गर्न लागिएको हो ।
किम्रिबाट सुरु हुने अल्ट्रारेस छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन हुनेछ । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गर्नेछ । प्रतियोगिता ३० किलोमिटर अल्ट्रारेसमा महिला तथा पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । यस्तै स्थानीयका लागि पाँच किलोमिटरको छुट्टै फन रन विधा छुट्याइएको छ । प्रतियोगितामा सहभागी हुन अनलाइन तथा अफलाइन दुवै माध्यमबाट निशुल्क गर्न सकिने जनाइएको छ ।
प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्रे लामाले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको महिला तथा पुरुषतर्फका उपाधि विजेता खेलाडीले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै दोस्रोले एक लाख ५० हजार, तेस्रो हुने खेलाडीले एक लाख, चौथोले ७५ हजार र पाँचौं स्थान हासिल गर्ने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी स्थानीयतर्फका विजेता खेलाडीलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि करिब ९८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
छायाँनाथ धाम प्राकृतिक सौन्दर्य, हिमाली भू–परिवेश र धार्मिक आस्थाको संगमका रूपमा परिचित भए पनि पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावले यसको सम्भावना उजागर हुन नसकेको अवस्थामा खेलकुदका माध्यमबाट यस क्षेत्रको प्रचार गर्ने गर्ने अभियानले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताए । ‘साहसिक खेलमार्फत खेल पर्यटन विकास गर्ने उद्देश्यले अल्ट्रा रेस आयोजना गर्न लागिएको हो’, अध्यक्ष लामाले भने, ‘यो प्रतियोगितापछि मुगुम कार्मारोङ साहसिक खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास हुनुका साथै छायाँनाथ धामको प्रचारप्रसार पनि हुने विश्वास गरेको छु ।’











प्रतिक्रिया