धादिङ ।
बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटार खेलमैदानमा भएको जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गल्छी गाउँपालिकाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा गल्छीले धुनीबेसी नगरपालिकालाई ७ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको धुनीबेसीले सुरुवातदेखि नै दबाबमा खेल्दै सन्तोषजनक प्रदर्शन गर्न सकेन । मध्यक्रमका कौशल रुपाखेतीले ३० रन र अमृत थापाले २८ रन बनाए । टोली २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रनमै समेटिएको थियो । बलिङतर्फ गल्छीका रामहरी सापकोटाले मात्र ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
जवाफमा गल्छीले १४.२ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । टोलीका लागि अंशराज गुप्ताले अविजित ३४ रन बनाए । अन्यमा सन्देश नेपालले ३३ रन र सरोज योञ्जनले २१ रनको योगदान दिए ।
उपाधिसँगै गल्छीले नगद ५५ हजार र उपविजेता धुनीबेसीले २५ हजार रुपैयाँ प्राप्त गरे । व्यक्तिगत विधातर्फ बेनीघाट रोराङ गाउँपालिकाका अञ्जल सिलवाल प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर घोषित भए । उनले प्रतियोगिताभर एक शतक र एक अर्धशतकसहित २ सय ७ रन बनाएका थिए । त्यस्तै, दिपेश सेडाईले १२.४ ओभरमा १२ विकेट लिँदै ५.२९ इकोनोमीका साथ उत्कृष्ट बलरको उपाधि हात पारे ।











प्रतिक्रिया