एनआरटी इलाम गोल्डकपको फाइनलमा तेस्रोपटक

376
Shares

इलाम ।

इलाममा जारी तेस्रो संस्करणको इलाम गोल्डकपमा डिफेण्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) लगातार तेस्रोपटक फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा रोलिङ क्लब झापालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि नजिकको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

खेलको पहिलो हाफको इन्ज्युरी समयमा एनआरटीका विज्ञान खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । झापाले भने दोस्रो हाफमा शानदार पुनरागमन ग¥यो । खेलको ५२ औँ मिनेटमा पुजन थापाले दिएको आकर्षक क्रसलाई फागुराम चौधरीले डिबक्स भित्रबाट सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै गोलका थुप्रै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एनआरटीका आशिष गुरुङ, सोनाम लिम्बु, आदित्य शाक्य र शिशिर लेखीले गोल गरे भने विज्ञान खड्काको प्रहार बाहिरिएको थियो ।

झापाका पुजन थापा, प्रताप सिंह राई र निग्मा घिसिङले गोल गरे । रामबहादुर शाहको प्रहार एनआरटीका गोलरक्षक विशाल सुनुवारले उत्कृष्ट बचाउ गरे भने फागुराम चौधरीको प्रहार बाहिरिएको थियो । निर्णायक बचाउ सहित टोलीलाई फाइनल पु¥याउन महत्वपूर्ण भूमिका खेलेका विशाल सुनुवार ‘म्यान अफ द म्याच’ घोषित भए ।

अब बैशाख १२ गते हुने फाइनलमा एनआरटीले अर्को बलियो टोली मच्छिन्द्र फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्रले पहिलो सेमिफाइनलमा पथरी–११ मोरङलाई ५–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
इलाम गोल्डकपको अघिल्ला दुई संस्करणको विजेता एनआरटी यसपटक उपाधिमा ‘ह्याट्रिक’ गर्दै प्रतियोगिताको इतिहास रच्ने दाउमा छ ।

उता मच्छिन्द्र भने एनआरटीको लगातारको उपाधि यात्रामा विश्राम लगाउँदै नयाँ च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रिनेछ । दुवै टोलीको लय, खेलाडीको प्रदर्शन र उपाधिको दबाबका कारण फाइनल खेल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

राष्ट्रिय खेलाडीले भरिएका दुई बलिया टोलीबीचको फाइनल भिडन्तमा इलामे दर्शकले उच्चस्तरीय फुटबलको मज्जा लिन पाउने निश्चित देखिएको छ । रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।