मच्छिन्द्र इलाम गोल्डकपको फाइनलमा

376
Shares

इलाम ।

इलाममा जारी तेस्रो संस्करणको इलाम गोल्डकपमा काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले फाइनल यात्रा तय गरेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा पथरी–११ मोरङलाई ५–२ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।
इलामको ठूलो टँुडिखेलमा सम्पन्न खेलमा ए डिभिजन क्लब मच्छिन्द्रका लागि पहिलो गोल मिलन चाम्लिङ राईले १४ औँ मिनेटमा गरे ।

तर यो अग्रता धेरै बेर टिक्न सकेन । पथरीका लागि १९ औँ मिनेटमा मौसम लिम्बूले गोल फर्काएका थिए ।
बराबरीपछि खेलमा झन् आक्रामक बनेको मच्छिन्द्रका लागि मिलन चाम्लिङले ३१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा २–१ गोलले अघि रहेको मच्छिन्द्र दोस्रो हाफमा झन् प्रभावशाली बन्यो ।

खेलको ५२ औँ मिनेटमा सौरभ लिम्बूले गोल गर्दै अग्रता ३–१ मा पु¥याए । त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको पथरीका लागि ७२ औँ मिनेटमा सुजल डंगोलले गोल गर्दै अन्तर ३–२ मा झारे । यसको बावजुद मच्छिन्द्रले खेलमाथि पूर्ण नियन्त्रण जमायो ।

मच्छिन्द्रका लागि अविनाश स्याङताङले ८० औँ मिनेटमा गोल गरे भने श्याम मुरमुले इन्जुरी समयको चौथो मिनेटमा गोल थप्दै ५–२ को फराकिलो जित पक्का गरे ।

पटक–पटक खेलमा फर्कने प्रयास गरे पनि पथरी अन्ततः सफल हुन सकेन र सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो । उपाधि चुम्ने उनीहरूको सपना पनि यहीँ समाप्त भयो । उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका मिलन चाम्लिङ ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

अब बिहीबार हुने दोस्रो सेमिफाइनलमा दुई पटकको विजेता एनआरटीले रोलिङ फुटबल क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल वैशाख १२ गते हुनेछ । रेडहर्ष एफसी इलामको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।