सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा


काठमाडौँ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएका छन्।

नेता किरातीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रलोपासँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् । उनले यस यात्रामा मार्गदर्शन गर्ने नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेका छन् । पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको उल्लेख गरेका छन् । नेता किरातीले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने समेत बताए ।

नेता किरातीले जनसमुदायको भरोसा र शहीदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा समेत गरेका छन् । उनले आफ्नो आगामी राजनीतिक बाटो सजिलो नभए पनि जनताको विश्वास र शहीदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने दृढता व्यक्त गरे।