काठमाडौं ।
नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी स्थापना दिवसलाई केवल सम्झनामा सीमित नराखी चुनौतीसँग जुध्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत अध्यक्ष केपी शर्मा ओलीको तस्बिर साझा गर्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
बस्नेतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछि समाजमा असमानता, बेरोजगारी, महँगी र निराशा बढेको छ। उनले श्रमिक र विद्यार्थी संगठनहरू खारेज गर्ने प्रयासलाई अधिनायकवादतर्फको संकेतका रूपमा व्याख्या गरेका छन्।
उनले पार्टी अध्यक्ष ओलीको गिरफ्तारीलाई कम्युनिष्ट आन्दोलन कमजोर बनाउने प्रयास भएको भन्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताए। यस्तो प्रवृत्तिले देशलाई फासिवादतर्फ धकेल्ने चेतावनी दिँदै यसको प्रतिकार गर्न आह्वान गरेका छन्।
बस्नेतले नारा भन्दा व्यवहारमा रूपान्तरण, सत्ता केन्द्रित राजनीतिभन्दा जनविश्वास र विभाजनभन्दा एकता आवश्यक रहेको उल्लेख गरे। उनले समानता, न्याय र श्रमिक अधिकारका लागि अझ सशक्त र संगठित ढंगले अघि बढ्नुपर्ने समय आएको बताएका छन्।
अन्त्यमा उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।











प्रतिक्रिया