काठमाडौं।
नेपालमा आधुनिक न्युरोसर्जरी सेवाको जग बसाल्ने अग्रणी चिकित्सक प्रा.डा. दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा मंगलबार बिहान आफ्नै निवासमा निधन भएको छ ।
उहाँको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एउटा ऐतिहासिक युगको अन्त्य भएको चिकित्सकहरू बताउँछन् । वरिष्ठ न्युरोसर्जन डा. प्रकाश विष्टले “गोंगलको निधनले नेपाली चिकित्सा क्षेत्रले आफ्नो एक मार्गदर्शक गुमाएको छ” भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
प्रा.डा. गोंगललाई नेपालमा पहिलोपटक न्युरोसर्जरी सुरु गर्ने चिकित्सकका रूपमा मात्र होइन, जटिल शल्यक्रियालाई देशभित्रै सम्भव बनाउने अग्रदूतका रूपमा सम्झिने गरिन्छ । उहाँले आफ्नो करिअरभरि पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी लगायतका जटिल शल्यक्रिया नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।
नेपालमा आधुनिक शल्यचिकित्साको प्रारम्भिक चरण अत्यन्तै चुनौतीपूर्ण थियो । उपकरण, दक्ष जनशक्ति र पूर्वाधारको अभावका बीच प्रा.डा. गोंगलले सन् १९६० को दशकतिर वीर अस्पतालमा पहिलोपटक टाउको (ब्रेन) शल्यक्रिया गरेर इतिहास रच्नुभएको थियो । त्यसपछि उहाँले मुटु, फोक्सो र पेटसम्बन्धी जटिल शल्यक्रियामा समेत अग्रणी भूमिका निर्वाह गर्नुभएको र उहाँकै नेतृत्वमा नेपालमा कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी (सीटीभीएस) सेवा समेत सुरु भयो, जसले देशको स्वास्थ्य प्रणालीमा नयाँ आयाम थपिएको वीर अस्पतालका चिकित्सकहरु बताउँछन् ।
वीर अस्पतालमा करिब चार दशक सेवा दिनुभएका उहाँले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढीको शल्यक्रिया गर्नुभएको थियो । जुन आफैंमा एउटा अभूतपूर्व कीर्तिमान हो । प्रा.डा. गोंगल चिकित्सक मात्र नभई एक संस्थापक र मार्गनिर्देशक पनि हुनुहुन्थ्यो । उहाँले चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापना र विकासमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
उहाँको योगदानले नेपालमा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने आधार तयार ग¥यो । आज देशभर फैलिएको न्युरोसर्जरी सेवा र विशेषज्ञ चिकित्सकहरूको पुस्ता उहाँकै मार्गदर्शनको निरन्तरता मानिन्छ ।
काठमाडौंमा जन्मिएका गोंगलको पुर्ख्यौली घर पाल्पाको तानसेन हो । जुद्धोदय स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएस्सी र बीएस्सी अध्ययन पूरा गर्नुभएको थियो । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस तथा मुम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गर्नुभएको थियो । विदेशमा सिकेको सीप र ज्ञानलाई स्वदेश फर्काएर प्रयोग गर्ने उहाको दृढ संकल्पले नेपालमै जटिल उपचार सम्भव बनायो । उहाँको पार्थिव शरीरमा मंगलवारै श्रद्धाञ्जली गर्नुका साथै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रा.डा. गोंगलले जीवनभरि देखाएको साहस, समर्पण र नवप्रवर्तनले नेपाली चिकित्सा क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको छ । उहाँको निधनसँगै एउटा व्यक्तिको मात्र होइन, एक युगको अन्त्य भएको छ—तर उहाँले निर्माण गरेको चिकित्सा विरासतले भावी पुस्तालाई मार्गदर्शन गरिरहनेछ ।











प्रतिक्रिया