मञ्जुश्री ट्रेल रेसमा अर्जुन र आङफुर्बा विजेता


काठमाडौं ।

नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को छैटौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । अर्जुनले उपाधिको रक्षा गरेका हुन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट १ सय माइल्स दौड उनले २६ घन्टा ३७ मिनेट ४९ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरेका थिए ।

यसैगरी यस पुरुष विधातर्फ नेपालकै मिलन कुलुङ राईले २७ः०५ः१८ सकेन्ड समयसहित दोस्रो स्थान हासिल गरे । उनी गत संस्करणमा पनि दोस्रो नै भएका थिए । नेपालकै विजय रानामगरले २८ः२५ः१७ सकेन्डसहित तेस्रो स्थान प्राप्त गरेका थिए ।
महिलातर्फको १ सय माइल्स दौडमा नेपालकी आङफुर्बा शेर्पा ३३ घन्टा १३ मिनेट ०६ सकेन्ड समयसहित विजेता बनिन् । न्युजिल्यान्डकी एनी माइ बान र नेपालकी अनिता राई क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका थिए । एनीले ३३ः५१.४१ र अनिताले ३८ः१८.२३ सकेन्ड समय लगाएर दौड पूरा गरेका थिए ।

८० किमी पुरुष दौडमा नेपालकै खेलाडीहरू शीर्ष तीन स्थानमा रहे । जसमा, सुर्यराज राई (१३ः१९ः५४ सकेन्ड) पहिलो, दावा तामाङ (१३ः२०.१५ सकेन्ड) दोस्रो र हरेन्द्रकुमार चौधरी (१५ः२३.३३ सकेन्ड) तेस्रो भए ।

महिलातर्फ भारतकी दाकाही क्युनडाइट १९ घन्टा २२ मिनेट १६ सकेन्डमा पहिलो भइन् । भारतकै नाङक्युसुकी स्लोङ (२१ः५०.५१ सकेन्ड) दोस्रो र बेलायतकी अलेक्जयान्द्रा रिग्ली (२३ः२२.१९ सकेन्ड) तेस्रो स्थानमा रहेका थिए ।

५० किमी पुरुष र महिलामा नेपालकै वर्चश्व रह्यो । पुरुषतर्फ गोपाल तामाङ (०६ः३०.१७ सकेन्ड) पहिलो, होमलाल श्रेष्ठ (०६ः३२.२१ सकेन्ड) दोस्रो र मानकुमार रोका मगर (०६ः५७.२३ सकेन्ड) तेस्रो भए । बन्नुभयो ।
महिलातर्फ सुनसरी रोकाया (०७ः५३.४६ सकेन्ड) पहिलो, राज्यलक्ष्मी रावल (०८ः४९.१० सकेन्ड) दोस्रो र कल्पना बुढा (०८ः५८.०९ सकेन्ड) तेस्रो स्थानमा रहेका थिए ।

२० किमीमा पुरुषतर्फ नेपालकै खेलाडी शीर्ष तीनमा रहे । जसमा विशालबहादुर तामाङ पहिलो, दिपक तामाङ दोस्रो र पासाङ तामाङ तेस्रो भए । यस्तै, महिलातर्फ मेरी इगेन पहिलो, टुवा मेरी स्कार दोस्रो र जोहानेसवर्ग रिमर तेस्रो भए ।
यसैगरी १० किमीमा पुरुषतर्फ सुहन तामाङ, विशाल तामाङ र सौगात आरसी शीर्ष तीन स्थानमा रहे । यस्तै, महिलातर्फ कर्सल लामा, अना लेना र एबी साभिन शीर्ष तीन स्थान रहेका थिए ।

छैटौँ मञ्जुश्री ट्रेल रेसको १ सय माइल्स दौड पातलेवनमा वैशाख ४ गते सुरु भएर काठमाडौँ उपत्यकाको परिक्रमा गरी वैशाख ६ गते पातलेवनमै पुगेर सम्पन्न भएको थियो । यसैगरी अन्य विधा, ८० किमी, ५० किमी, २० किमी र १० किमी क्रमशः नगरकोट, गोदावरी, फर्पिङ, र पातलेवनबाट शुरु गरिएको थियो भने समापन पातलेबनमा नै भयो ।

सो दौडमा ३० राष्ट्रका ६ सयभन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । आगामी सातौं संस्करण २०२७ मार्च ५–७ तारिखमा हुने तय गरिएको छ ।