रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु


काठमाडौँ । 

ललितपुरमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि सुरु भएको छ। पुल्चोकमा बनाइएको ३२ हात लामो रथलाई आज तानेर गाःबहालसम्म पुर्‍याइने परम्परा छ। रथ तान्नुअघि गुरुज्यूको पल्टनले सलामी दिने र विभिन्न बाजागाजा समूहको सहभागिता रहने गर्दछ।

जात्रा अवधिभर रथलाई विभिन्न स्थानमा पुर्‍याई पूजा गर्ने तथा स्थानीयले जात्रा भोज खुवाउने चलन रहेको छ। साइत अनुसार रथ गाःबहालबाट मंगलबजार, सुनधारा, चक्रवहिल हुँदै लगनखेलको थटीटोलसम्म पुर्‍याइन्छ। नरिवल खसाल्ने जात्रा पछि रथलाई जावलाखेल लगेर भोटो जात्रा देखाइनेछ र अन्त्यमा मच्छिन्द्रनाथलाई बुङमती लगेर राखिने कार्यक्रम रहेको छ।