काठमाडौँ
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारण सभा विराटनगरस्थित होटल ह्यारिसन प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरेको छ । साथै आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो आर्थिक वर्षमा गरिएका खर्चहरूलाई समेत सभाले स्वीकृति दिएको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले कम्पनीको वित्तीय प्रगति, दीर्घकालीन रणनीति, नवीनतम बीमा सेवा विस्तार तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कम्पनीको निरन्तर सफलताको श्रेय शेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरूको मेहनत र कर्मचारीहरूको समर्पणलाई दिनुभयो ।
साधारण सभाका क्रममा शेयरधनीहरूले कम्पनीप्रतिको विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा र दिगो प्रगतिको अपेक्षा राखेका थिए। सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन्। कम्पनीले भविष्यमा पनि सेवा गुणस्तरलाई थप परिस्कृत गर्दै बीमितहरूको जीवनमा आर्थिक सुरक्षा र भरोसा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोष ४,३८३ करोड, लगानी ४,८४५ करोड तथा नेटवर्थ ६७४ करोड रुपैयाँ पुगेको छ। कम्पनीसँग १ लाख ६ हजारभन्दा बढी अभिकर्ता, ३५ लाख ८७ हजार बीमालेख र देशभर फैलिएका १७६ शाखा सञ्जाल रहेका छन्। साथै कम्पनीले नेपालमै सर्वाधिक ३५ घातक रोगविरुद्ध प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गर्दै आइरहेको छ।











प्रतिक्रिया