नेपाल बैंकको ६६औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ
नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा आज मिति २०८२ पौष ३० गते बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौँमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण छलफलपछि पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा स्वीकृत गर्दै श्री महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

यसैगरी बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ । उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा फेरबदल प्राप्त भएमा सोही अनुरूप आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ ।