काठमाडौँ
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २७औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँको नक्सालस्थित भगवतीबहालमा रहेको संस्थाको केन्द्रीय कार्यालय ‘निर्धन भवन’मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जनार्दन देव पन्तको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति पदाधिकारी, शेयरधनी, कर्मचारी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित कुल १५५ जनाको उपस्थिति रहेको थियो ।
साधारण सभामा अध्यक्ष पन्तले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र वित्तीय अवस्था, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउनुभयो । सभाले आर्थिक वर्ष २०८१÷८२ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार ७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सोअनुसार चुक्ता पूँजी २ अर्ब ६१ करोड २० लाख ७९ हजार ७५० रुपैयाँको ७ प्रतिशतले हुन आउने १८ करोड २८ लाख ४५ हजार ५ सय ८२ रुपियाँ ५० पैसा (कर सहित) नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ ।
५ प्रतिशत बोनस शेयर पारित भएसँगै संस्थाको जारी तथा चुक्ता पूँजी २ अर्ब ७४ करोड २६ लाख ८३ हजार ७ सय ३७ रुपियाँ ५० पैसा पुगेको छ। साथै साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणहरू छलफलपछि स्वीकृत गरेको छ। यसका साथै संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
सभामा शेयरधनी यज्ञप्रसाद शर्मा, सुन्दर वास्तोला तथा प्रा.डा. फत्तबहादुर के.सी.ले शुभकामना मन्तव्य दिनुभएको थियो। सो अवसरमा प्रा.डा. के.सी.ले विगतका वर्षहरूमा शेयरधनीले लाभांश नपाएको अवस्थाबाट यो वर्ष १२ प्रतिशत लाभांश वितरण गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । साथै देशको अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्र र लघुवित्त सेवा चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै आगामी दिनमा संस्थाले अझ प्रभावकारी कार्यसम्पादन गर्न सुझाव दिनुभयो ।
शेयरधनीहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको उत्तर दिँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दाहालले संस्थाको लक्ष्य, योजना, रणनीति र कार्यनीतिबारे प्रष्ट पार्नुभयो। उहाँले चालु आर्थिक वर्षमा समेत संस्थाले लिएका लक्ष्य तथा योजनाअनुसार कार्यसम्पादन सन्तोषजनक रूपमा अगाडि बढिरहेको जानकारी गराउनुभयो ।
संस्थाले २०८२ कार्तिक मसान्तसम्म देशका ७७ वटै जिल्लाका ५५४ स्थानीय तहमा १८५ वटा शाखा कार्यालयमार्फत चार लाखभन्दा बढी घरधुरीलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।











प्रतिक्रिया