काठमाडौँ
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यको करियर सुरुवातमा सहयोग पु¥याउने उद्देश्यसहित पहिलो पटक क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी २० मार्च २०२६ मा आयोजना हुन लागेको यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने विश्वास संस्थाले लिएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको आइक्यान नेपालमा लेखा व्यवसायको नियमन तथा प्रवद्र्धन गर्ने स्वायत्त संस्था हो । क्याम्पस प्लेसमेन्ट कार्यक्रममार्फत आइक्यानले दक्ष, इमान्दार तथा पेशागत रूपमा सक्षम चार्टर्ड एकाउन्टेन्टलाई अग्रणी रोजगारदाता संस्थासँग प्रत्यक्ष जोड्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग तथा उत्पादनमूलक संस्था, लेखापरीक्षण तथा परामर्श फर्म, विकास क्षेत्रका संस्था, स्टार्टअप तथा फिनटेक कम्पनी लगायत विभिन्न रोजगारदाता संस्थाको सहभागिता रहनेछ । यस अवसरमा नयाँ चार्टर्ड एकाउन्टेन्टले रोजगारदातासँग अन्तर्वार्ता तथा अन्तरक्रिया गर्ने मौका पाउनेछन् ।
संस्थाले आयोजना गर्न लागेको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमबारे आइक्यानका अध्यक्षा सिए निल बहादुर सारु मगरले नयाँ चार्टर्ड एकाउन्टेन्टको करियर सुरुवातमा सहयोग गर्नु आइक्यानको प्रमुख प्रतिबद्धता रहेको बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रम प्रतिभाशाली चार्टर्ड एकाउन्टेन्टहरूलाई उपयुक्त रोजगारीको अवसरसँग जोड्नुका साथै नेपालमा दक्ष, इमान्दार र नैतिक लेखा विज्ञहरूको आवश्यकता पूरा गर्ने उद्देश्यले अघि बढाइएको हो ।
आइक्यानको यस पहलले चार्टर्ड एकाउन्टेन्टको करियर विकासलाई थप सशक्त बनाउने र विभिन्न संस्थालाई गुणस्तरीय लेखा तथा वित्तीय जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।











प्रतिक्रिया