सानिमा बैंक नेपालपे कार्ड प्रणालीमा आवद्ध


काठमाडौँ
सानिमा बैंक नेशनल कार्ड स्विच अन्तर्गत सञ्चालनमा रहेको नेपालपे कार्ड प्रणालीमा आवद्ध भएको छ । यसका लागि सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपालपे कार्डको प्रिन्सिपल मेम्बरशिप सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा दुवै संस्थाका उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदान–प्रदान गरिएको छ ।

सम्झौतापश्चात एनसीएचएलको कार्ड स्विचमा बैंकको स्वीच इन्टिग्रेसन सम्पन्न भएपछि सानिमा बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न तथा एटीएम तथा पीओएसमार्फत हुने कारोबार एक्वायर गर्न सक्नेछ । हालसम्म एनसीएचएल अन्तर्गत ३३ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरको रूपमा आवद्ध भइसकेका छन् भने तीमध्ये १२ वटा संस्थाहरूले लाइभ अपरेसन सुरु गरिसकेका छन् ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ र अन्तर्राष्ट्रिय कार्ड नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्डलाई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपालभित्र तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलहरूमा प्रयोग गर्न सकिनेछ ।

नेशनल कार्ड स्विचलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ तथा सेटलमेन्टका लागि केन्द्रीय स्विचको रूपमा स्थापना गरिएको हो । यस प्रणालीले डोमेस्टिक कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम प्रविधि तथा उपकरणहरूको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । नेपालपे कार्ड र नेशनल कार्ड स्विचको कार्यान्वयनले नेपालको कार्ड भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

नेपालका अग्रणी बैंकहरूमध्ये सानिमा बैंकले कार्ड सम्बन्धी विविध उत्पादन तथा सेवाहरू विस्तार गर्दै आएको छ । बैंकले हाल देशभर रहेका १०६ वटा शाखा, २८ वटा विस्तारित काउन्टर तथा १२७ वटा एटीएम टर्मिनलमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।