काठमाडौँ
आइतबार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका दुई जना कर्मचारीमाथि सशस्त्र लुटपाटको घटना भएको छ । संस्थाको शाखा कार्यालय ईश्वरपुर, सर्लाहीमा कार्यरत कर्मचारी पूजा सरदार र शान्ति सरदारमाथि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले कटुवा पेस्तोल देखाएर नगद लुटी फरार भएका हुन् ।
संस्थाका अनुसार उनीहरू लालबन्दी नगरपालिका–३, जब्दीमा नियमित रूपमा सञ्चालन हुने केन्द्र बैठक सम्पन्न गरी कार्यालय फर्किने क्रममा हरिपुर जाने सडकखण्डको पोखरीटोल क्षेत्रमा उक्त घटना भएको हो । लुटपाटमा केन्द्र बैठकबाट संकलित १ लाख ८४ हजार ७०५ रुपियाँ नगदसहित कार्यालय प्रयोजनका कागजात रहेको झोला समेत लुटिएको बताइएको छ । लुटेराहरू पूर्व दिशातर्फ फरार भएका थिए ।
घटनापछि तत्कालै इलाका प्रहरी कार्यालय बयलबासलाई जानकारी गराइएको र भोलिपल्ट लिखित उजुरी दर्ता गरिएको संस्थाले जनाएको छ ।
प्रहरी प्रशासनले पीडित कर्मचारी, शाखाका अन्य कर्मचारी तथा स्थानीयवासीसँग सोधपुछ गरी घटनाबारे जानकारी संकलन गरेको जनाएको छ । साथै घटनास्थल आसपासका सडकमा जडित सीसी क्यामेरा जाँच गर्नुका साथै शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया