नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको १२औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ
नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (एनआइसीसिआइ) ले काठमाडौँमा आफ्नो १२औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा माननीय संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । एनआइसीसिआइका अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु¥याउँदै आएको सहयोगको महत्व उल्लेख गर्नुभयो ।

वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि संजय अग्रवाल पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यसले उहाँको नेतृत्व क्षमता र चेम्बरप्रतिको दीर्घकालीन दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वास रहेको स्पष्ट गर्दछ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि एनआइसीसिआइका रणनीतिक प्राथमिकता प्रस्तुत गर्नुभयो । उहाँले नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्यलाई गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजीकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, साथै सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा एनआइसीसिआइको भूमिकालाई अझ सुदृढ बनाउने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रमका क्रममा भिनोद सगतानीलाई ‘मेम्बर अफ द इयर अवार्ड’ प्रदान गरिएको थियो भने कल्याण सिलवाललाई ‘एनआइसीसिआइ कर्पोरेट कम्युनिटी अवार्ड’ प्रदान गरिएको थियो ।

नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजीकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको चेम्बरले जनाएको छ ।