काठमाडौँ
विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बागबजार, काठमाडौंको २०औँ वार्षिक साधारण सभा भव्य तथा सभ्य रूपमा पौष २६ गते सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू आबद्ध रहेको यस सहकारीमा देशभर रहेका प्राधिकरणका विभिन्न कार्यालयका कर्मचारी सदस्यका रूपमा सहभागी छन् ।
सहकारीले गत वर्षदेखि प्रत्येक प्रदेशमा एकाइ साधारण सभा सम्पन्न गरी विधानअनुसार केन्द्रीय साधारण सभाका लागि प्रतिनिधि छनोट गर्दै आएको छ । सोही प्रक्रिया अन्तर्गत पौष १० गते जनकपुर, सुर्खेत र बुटवल तथा पौष १२ गते विराटनगर, पोखरा र अत्तरियामा एकाइ साधारण सभा सम्पन्न भएका थिए ।
२०औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शाक्यले सहकारीले सदस्यकेन्द्रित भएर देशभर साधारण सभा सञ्चालन गर्नु, सदस्यहरूलाई विभिन्न सहायता कार्यक्रम उपलब्ध गराउनु, सुलभ ब्याजदरमा तत्काल ऋण उपलब्ध गराउनु तथा सदस्यका बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले बाल शैक्षिक बचत कार्यक्रम सञ्चालन गर्नु उत्कृष्ट कार्य भएको बताउनुभयो। उहाँले सरकारको तीनखम्बे आर्थिक नीतिमध्ये सहकारी महत्वपूर्ण खम्बा भए पनि पछिल्ला दिनमा केही सहकारीमा पारदर्शिता र अनुशासनहीनता देखिएको उल्लेख गर्दै विद्युतकर्मी सहकारीमा त्यस्तो समस्या नदेखिनु र संस्थाको आर्थिक अवस्था निरन्तर सुदृढ बन्दै जानु सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
साधारण सभामा पूर्व सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरू, नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न ट्रेड युनियनका प्रतिनिधि लगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक लिला बहादुर थापाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष राजु प्रसाद तिमिल्सिनाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारण सभामा २०८१ सालको एसईई तथा कक्षा १२ परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका छोराछोरीहरूलाई सम्मान गरिएको थियो। साथै, गत आर्थिक वर्षमा संस्थाको कार्य सञ्चालनमा योगदान पु¥याउने देशभरका कार्यालयमा कार्यरत उत्कृष्ट प्रतिनिधि, असल ऋणी तथा विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
होटेल हार्दिक, बागबजारमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य लक्ष्मी गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य गंगा कुमारी राउतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सञ्चालक समिति सचिव निपिन कुमार देवले गर्नुभएको थियो ।











प्रतिक्रिया