काठमाडौँ
सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा प्रस्तुत विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०८१÷८२ मा १ अर्ब १४ करोड ७६ लाख ३३ हजार ८ सय १७ रुपैयाँ बराबरको कुल कारोबार गरेको छ ।
संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ७१ लाख ७७ हजार ६ सय २९ रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । साथै, ४ हजार १ सय १२ जना शेयर सदस्यबाट ५ करोड ७२ लाख ८ हजार ९ सय रुपैयाँ शेयर पुँजी संकलन भएको छ । त्यस्तै, ७३ करोड ७३ लाख २९ हजार २ सय ३९ रुपैयाँ कर्जा लगानी गरिएको जानकारी संस्थाका मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले दिनुभयो ।
साधारण सभामा अध्यक्ष वसी अहमद मिकरानीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार संस्थाले आगामी आर्थिक वर्ष २०८३÷८४ मा ८ अर्ब ११ करोड ३८ लाख ५० हजार रुपैयाँको कारोबार पु¥याई ४ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मिकरानीले सहकारी सबैको सहकार्यबाट अघि बढ्ने संस्था भएकाले सदस्यहरूले लिएको ऋण समयमै चुक्ता गर्न र हातेमालो गर्दै संस्थालाई अझ सबल बनाउन आग्रह गर्नुभयो । प्रतिवेदनअनुसार संस्थाले जगेडा तथा अन्य कोषतर्फ ५४ लाख ८६ हजार रुपैयाँ विनियोजन गरेको छ ।
कार्यक्रममा पूर्व डिभिजन सहकारी अधिकृत सुरेन्द्रलाल कर्णले आर्थिक मन्दीका कारण ऋण चुक्ता गर्न नसकी समस्यामा परेका विपन्न ऋणीहरूका लागि निश्चित अवधिका लागि सहुलियत प्याकेज ल्याई ऋण असुली गर्नुपर्ने सुझाव दिनुभयो । साथै, ऋणी सदस्यहरूले पनि इमान्दारिताका साथ संस्थासँग कारोबार गर्नुपर्ने उहाँको भनाइ थियो ।
साधारण सभामा संस्थाका उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, कर्मचारीलगायत विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै, सर्लाहीको मलंगवामा संस्थाको आफ्नै प्रधान कार्यालय भवन निर्माणका लागि आवश्यक गृहकार्य सम्पन्न भइसकेको र निकट भविष्यमा निर्माण कार्य सुरु गरिने जानकारी पनि दिइयो ।
हाल सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको सहारा बहुउद्देश्यीय सहकारीले हरिवन, बरहथवा, गोडैता, पर्सा (सर्लाही), कटहिया (रौतहट), सिमराबारा, कोल्हवीबारा, निजगढ (बारा), हेटौंडा (मकवानपुर), गौशाला (महोत्तरी) तथा चितवनको नारायणगढ गरी १२ स्थानबाट आफ्ना शेयर सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया