स्टक ब्रोकर्स एशोसियसनको ३१औँ साधारणसभा\ब्रोकर सेटलमेन्टका लागि ५० लाखसम्मको सापटी कोष कार्यविधि अनुमोदन


काठमाडौँ ।
स्टक ब्रोकर्स एशोसियसन अफ नेपालले ३१औँ वार्षिक साधारण सभामार्फत ब्रोकर सेटलमेन्ट सहज बनाउन ५० लाख रुपैयाँसम्म सापटी उपलब्ध गराउने कार्यविधि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । एशोसियसनको हालको दुई करोड रुपैयाँको कोषबाट आवश्यकता अनुसार ब्रोकरलाई सेटलमेन्टका लागि सापटी दिने व्यवस्था गरिएको हो ।

प्रस्तावित कार्यविधिअनुसार ब्रोकरलाई पाँच दिनका लागि ५० लाख रुपियाँसम्म सापटी दिने व्यवस्था गरिएको भए पनि साधारण सभामा सहभागी सदस्यले पाँच दिनको सट्टा तीन दिनका लागि मात्रै सापटी दिनुपर्ने सुझाव दिएका छन् । सो सुझावलाई समेटेर समितिले कार्यविधि परिमार्जन गरी अन्तिम रूप दिने एशोसियसनले जनाएको छ ।

एशोसियसनका महासचिव भक्तिराम घिमिरेका अनुसार सापटी कोष सञ्चालनसम्बन्धी कार्यविधि अनुमोदन भइसकेको छ । “एशोसियसनको कोषमा दुई करोड रुपियाँ छ। सो रकमबाट ब्रोकरलाई सेटलमेन्टका लागि ५० लाख रुपियाँसम्म सापटी दिने कार्यविधि पास भएको छ,” उहाँले भन्नुभयो, “साधारण सभाबाट आएको सुझावअनुसार पाँच दिनलाई घटाएर तीन दिन बनाइनेछ ।”

कार्यविधिमा एक ब्रोकरले एक महिनामा अधिकतम तीन पटक मात्र सापटी कोष प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । साथै, एक महिनाभन्दा बढी समयसम्म सापटी लिन नपाउने प्रावधान पनि समावेश गरिएको छ। आवश्यक कार्यविधि नहुँदा यसअघि ब्रोकरहरू एक–आपसमा सापटी लिएर कारोबार गर्दै आएको महासचिव घिमिरेले जानकारी दिनुभयो ।

साधारण सभामा एशोसियसनले आर्थिक वर्ष २०८१÷८२ मा करिब २१ खर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको तथ्य सार्वजनिक गरेको छ। अघिल्लो वर्षको तुलनामा कारोबार उल्लेख्य रूपमा बढे पनि चालु आर्थिक वर्षमा भने सन्तोषजनक अवस्था नरहेको भन्दै व्यवसायीले गुनासो व्यक्त गरेका छन् । विशेषगरी पछिल्लो छ महिनाको कारोबार अपेक्षाअनुसार हुन नसकेको उनीहरूको भनाइ छ।

उपत्यकाबाहिर पहिलो पटक पोखरामा आयोजना गरिएको यस साधारण सभामा आर्थिक वर्ष २०८०÷८१ मा करिब ७ खर्ब रुपैयाँ मात्रै कारोबार भएको उल्लेख गरिएको थियो। आर्थिक वर्षको सुरुआती चरणमा भदौ २४ र २५ गते भएको ‘जेनजी आन्दोलन’ का कारण कारोबार खस्किएको जनाइएको छ । कार्यालय व्यवस्थापक अर्जुन तिमिल्सिनाका अनुसार लगानीकर्ताको मनोबल कमजोर हुनु, राजनीतिक अस्थिरता तथा चुनावपछिका सरकारका नीतिहरूले पुँजी बजार प्रभावित हुँदै आएको छ । साधारण सभामा कोषाध्यक्ष मदन पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो। पोखरामा पहिलो पटक आयोजित सभामा सहभागी एशोसियसनका पदाधिकारी तथा विशिष्ट व्यक्तित्वहरूलाई ब्रोकर नं. १४ पोखराका प्रमुख गोकुल रिमालले स्वागत गर्नुभएको थियो ।

सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख चिरञ्जीवी चापागाईंलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।