सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित


काठमाडौँ
सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको साधारण सभामा अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा विभिन्न प्रस्ताव पारित भएका छन् ।

साधारण सभाले सेयरधनीलाई १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश कर प्रयोजनका लागि १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा संस्थाले ८७ करोड ५० लाख ६ हजार खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिइएको छ । सभा मा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरणसमेत सर्वसम्मत पारित गरिएका छन् ।

संस्थाको लेखापरीक्षण वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१÷८२ मा संस्थाको जारी र चुक्तापुँजी रु. ४ अर्ब ३१ करोड २६ लाख २१ हजार पुगेको छ भने, कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार पुगेको छ । संस्थाको प्रतिशेयर आम्दानी २०.२९ र बुक नेटवर्थ २३९.३८ रहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष खेमबहादुर पाठकले गरिबी निवारणका लागि संस्थाले ग्रामीण क्षेत्रका साना किसानलाई केन्द्रमा राखेर लगानी गर्दै आएको बताउनुभयो । उनले संस्थाले गरिब र किसानलाई माथि उठाएर देशको अर्थतन्त्र सुधार गर्न योगदान पुर्याउने दाबी गर्नुभयो । उनले सबैलाई साना किसानहरूको हकमा संस्थालाई बलियो बनाउने सन्देश पनि दिनुभयो ।

त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले संस्थाले उद्यमशीलता र आर्थिक सवलिकरणका कार्यक्रमलाई सरकारसँग र दातृ निकायसँग सहकार्य गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

साधारण सभामा ७७ जिल्लाका ५४६ स्थानीय तहका १,४६३ साझेदार संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो। यी संस्थाहरूले ८८ अर्ब ८४ करोड ४९ लाख बराबरीको आन्तरिक पुँजी निर्माण गरी सञ्चालन गरेका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारको ऋण सहयोगमा १५ वर्षदेखि सहुलियतपूर्ण पशुपालन र तरकारी खेती कर्जा कार्यक्रम सञ्चालन गर्दै १ लाख ६९ हजार ५०० किसानलाई व्यवसायसँग जोड्न सफल भएको छ। यस कार्यक्रम मार्फत २ लाख ८५ हजार ३ सय ७२ किसानलाई पशुपालन कर्जा र १८ हजार १ सय २ जना सानाकिसानलाई तरकारी खेती कर्जा प्रवाह गरिएको बताइएको छ ।

यस संस्थाले १७ लाख ७९ हजार ७० पशु पालन र १० हजार बिघा भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्न सघाएको दावी गरेको छ ।

यो वित्तीय संस्था एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा कृषिमायुका कार्यक्रमहरू संचालन गर्दै ग्रामीण उद्यममा समावेश गर्न लक्षित भएको छ ।