काठमाडौं ।
भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी लिएको नागरिक सरकारले निर्वाचन सुरक्षाका लागि तीनवटै सुरक्षा निकायलाई देशभर परिचालन हुन निर्देशन दिएको छ ।
सरकारले घोषणा गरेको निर्वाचन मितिसम्म अब ५५ दिनमात्र बाँकी रहँदा सुरक्षा निकायहरूले आ–आफ्ना सुरक्षा कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन सुरक्षाको वातावरण तयार गर्न देशव्यापी परिचालन सुरु गरेका छन् ।
यसपटकको निर्वाचनमा नेपाली सेनाले ७९ हजार ७२७, नेपाल प्रहरीले ७१ हजार ६२० र सशस्त्र प्रहरी बलले ३९ हजार ६८६ जनशक्ति निर्वाचन सुरक्षामा परिचालन गर्ने भएका छन् ।
त्यसै गरी, निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बलले १५ हजार म्यादी प्रहरी भर्ना गरी परिचालन गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी बलले पहिलोपटक निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्न लागेको हो । ४० दिने कार्य अवधि रहेको म्यादी प्रहरीले निर्वाचन सम्पन्न भएर परिणाम आएपछि बिदा पाउने छन् । यसपटक म्यादीमा भर्ना हुन चाहने प्रहरीमा विगतमा समेत खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिने सुरक्षा निकायले जनाएको छ ।
सुरक्षा निकायले निर्वाचन क्षेत्रको संवेदनशीलता मूल्यांकन गर्दै मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेका छन् । २ हजार ८ सय ७९ मतदानस्थल सामान्य, ४ हजार ५ सय २९ मतदानस्थल संवेदनशील र ३ हजार ५ सय १८ मतदानस्थल अति संवेदनशीलका रूपमा वर्गीकृत छन् ।
यसरी सुरक्षा संवेदनशीलताको आधारमा संयुक्त सुरक्षा फौज परिचालन गरिने भएको छ । सोहीअनुसार नियमित रूपमा सुरक्षा निकाय परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइसकिएको जनाइएको छ ।
नेपाली सेनाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७९ हजार ७२७, जनशक्ति परिचालन गर्ने तयारी गरेको स्पष्ट पारेको छ । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतले एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनको एक महिना अघिदेखि सेनाको फिल्ड परिचालन सुरु हुनेछ । एकीकृत सुरक्षा योजना सरकार र राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ ।
निर्वाचन अवधिमा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचन पूर्व मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी सेनाले बहन गर्ने प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
त्यसै गरी, सेनाले चारवटै सुरक्षा निकाय तथा जिल्ला प्रशासनसँगको समन्वयमा तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गर्ने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन यो अभ्यास गरिएको उहाँले बताउनुभयो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचन सुरक्षाका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा ‘निर्वाचन सेल’ गठन गरिएको र प्रत्येक सेलमा फोकल पर्सन तोकी कार्यसम्पादन भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनको वातावरण बनाउन गस्ती, पेट्रोलिङ, पिकेट, चेकिङलगायतका गतिविधिमा प्रहरी परिचालन गरिएको छ ।
शान्ति सुरक्षाको विषयमा कसैले डर मान्नुपर्ने अवस्था छैन । पूर्ण रूपमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न प्रहरी दत्तचित्त छ,डीआईजी काफ्लेले भन्नुभयो ।
निर्वाचन नजिकिँदै जाँदा जेन–जी युवा समूह, पुराना तथा नयाँ राजनीतिक दलबीच मतभेद र अन्तरद्वन्द्व बढ्न सक्ने, आन्दोलनपछिका राजनीतिक विभाजनका कारण निर्वाचन बहिष्कार, अवरोध, मतदाता, उम्मेदवार तथा निर्वाचन कर्मचारीमाथि धम्की वा हिंसा हुन सक्ने सम्भावनालाई सुरक्षा चुनौतीका रूपमा लिइएको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले केन्द्रदेखि जिल्लासम्म ‘निर्वाचन सेल’ गठन गरी सुरक्षा फौज चलायमान बनाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनसम्बन्धी अनुशिक्षण कार्यक्रम देशभर सञ्चालन भइरहेको छ र सबै जिल्लाबाट सुरक्षा अवस्थाको नियमित जानकारी संकलन भइरहेको छ । एकीकृत सुरक्षा योजना लागू भइसकेकाले सोहीअनुसार सबै सुरक्षा निकाय परिचालन हुनेछन्, थापाले भन्नुभयो ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सम्भावित राजनीतिक तनाब, मतभेद र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सरकारले समयमै तीनै सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, म्यादी प्रहरीको व्यापक प्रयोग, मतदानस्थलको संवेदनशीलता अनुसार सुरक्षा व्यवस्थापन र तल्लो तहसम्मको तालिम तथा अभ्यासले निर्वाचनलाई भयमुक्त, शान्तिपूर्ण र निष्पक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अब सुरक्षा योजनाको प्रभावकारिता मैदानमा हुने कार्यान्वयन, राजनीतिक दलको जिम्मेवार व्यवहार र नागरिकको सक्रिय सहभागितामा निर्भर रहने देखिन्छ ।

निर्वाचनका लागि सेनाले झण्डै ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
राजाराम बस्नेत
सहायक रथी तथा प्रवक्ता, नेपाली सेना

निर्वाचनको वातावरण बनाउन गस्ती, पेट्रोलिङ, पिकेट, चेकिङलगायतका गतिविधिमा प्रहरी परिचालन गरिएको छ ।
अविनारायण काफ्ले
प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता, नेपाल प्रहरी

केन्द्रदेखि जिल्लासम्म ‘निर्वाचन सेल’ गठन गरी सुरक्षा फौज चलायमान बनाएका छौं ।
मनिष थापा
सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता,
सशस्त्र प्रहरी बल











प्रतिक्रिया