क्यान्सर उपचारमा सरकारी सहयोग नहुँदा निजी अस्पताल बन्द हुने अवस्थामा

बिरामी बिदेसिन बाध्य हुदैछन्–डा.सुदीप


काठमाडौँ। 

नेपालमा क्यान्सरको आधुनिक उपचार सेवा विस्तार भए पनि आम नागरिकको पहुँच र सरकारी सहुलियत अझै प्रभावकारी हुन नसकेको भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरद्वारा आयोजित एक सचेतना कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले क्यान्सर अब “मृत्युको पर्याय“ नभई समयमै उपचार गरे निको हुने रोगका रूपमा स्थापित भइरहेको बताए ।

उनले भने– सरकारले लागु गरेको स्वास्थ्य बीमा क्यान्सरका बिरामीका लागि मात्र हैन क्यान्सर उपचारका लागि स्थापना गरेको अस्पतालका लागि समेत निल्नु न ओकल्नुको अवस्था आएको छ । सरकारको सहयोग विना नै सबै व्यवस्था आफैले गरेर स्थापना गरेको क्यान्सर अस्पतालले क्यान्सरका बिरामीको उपचार गरेवापत पाउँनुपर्ने स्वास्थ्य बीमाको ११ करोड रुपैया लिन बाँकी छ । क्यान्सरको उपचार स्वास्थ्य बीमाका माध्यमबाट बिरामीले निःशुल्क पाउँनुपर्छ । यता तर्फ सरकार र नेताहरुको ध्यान पुग्नुपर्नेमा उल्टै उनीहरुका कार्यकर्ता या मतदाता भए भने नेता र मन्त्रालयबाट निःशुल्क उपचार गर्दिनुस भनेर फोन गर्नुहुन्छ । यस्तो अवस्थामा अस्पतालले कसरी निःशुल्क उपचार गर्ने ? 

डा.श्रेष्ठका अनुसार नेपाली नागरिक असाध्य धनी छैनन र सबै क्यान्सरका बिरामीले स्वास्थ्य बीमा मार्फत उपचार पाउनुपर्छ । नेपालमै हुने उपचारका लागि खर्च गर्न सक्ने र नेताहरुले विदेशमा गएर विशेष गरि क्यान्सर उपचारका लागि भारतमा गएर बर्षेनी अरबौ खर्च गरिरहेका छन् । यसले ल्याएको दुस्प्रचारका कारण नेपालमै हुने उपचारका लागि बिरामीले भारतमा पुगेर नेपालमै उपचार हुन्छ भनेर फर्किनुपर्ने अवस्था छ । यो अवस्था सृजना गर्ने नेता र सरकार कहिले जबाफदेही हुन्छ र नेपाली नागरिकले समयमै आफ्नै देशमा क्यान्सर उपचार पाउँछन् ? 

रोबोटिक सर्जरी र प्रविधिको प्रयोग

कार्यक्रममा डा. श्रेष्ठले पछिल्लो समय चर्चामा रहेको रोबोटिक सर्जरीका बारेमा प्रष्ट पारे । उनका अनुसार रोबोटिक सर्जरीले घाउ सानो पार्ने र छिटो निको पार्ने भए पनि यो खर्चिलो छ । “अपरेसन गर्ने अन्ततः चिकित्सकको हातले नै हो,“ उनले भने, “भारत जस्ता देशमा रोबोटिक सर्जरीको प्रयोग बढे पनि दक्षताको कमीले असफलताको दर पनि देखिन थालेको छ । त्यसैले प्रविधि भन्दा पनि विशेषज्ञको सीप महत्वपूर्ण हुन्छ ।“

स्तन र पाठेघरको क्यान्सर स्क्रिनिङ

वरिष्ठ चिकित्सक डा. अनु बज्राचार्यले स्तन र पाठेघरको मुखको क्यान्सर रोकथामका उपायबारे जानकारी दिए । उनले पाठेघरको मुखको क्यान्सरबाट बच्न ’ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप प्रभावकारी हुने र प्रत्येक तीन वर्षमा ’प्याप स्मेयर’ परीक्षण गराउनुपर्नेमा जोड दिए । हाल नेपाल राष्ट्रिय खोपका रुपमा शुरु गरिएको एचपीभी खोप कार्यक्रमलाई किशोरीमा मात्र नभै किशोरमा पनि लागुगर्नुपर्नेमा जोड दिए । 

सरकारी सहयोग र बिमा प्रणालीको आलोचना

सरकारले क्यान्सर बिरामीलाई दिँदै आएको १ लाख रुपैयाँको सहयोग अपर्याप्त रहेको उल्लेख गरिएको छ  । सहभागीहरूले सरकारको यो राहत वितरण प्रणाली “अन्यायपूर्ण“ रहेको र पहुँचवाला नेताहरूले बढी सुविधा पाउने गरेको भन्दै आलोचना गरेका छन् । 

चिकित्सक तथा क्यान्सर विजेताहरूले क्यान्सर उपचारका लागि छुट्टै र बलियो स्वास्थ्य बिमा प्रणाली (सुरक्षित प्रणाली) आवश्यक रहेको बताए । “सरकारले १ लाख दिएर मात्र पुग्दैन, सबै नागरिकलाई समान उपचारको प्रत्याभूति दिलाउन निःशुल्क वा पूर्ण बिमाको व्यवस्था गर्नुपर्छ,“ कार्यक्रममा सहभागीहरूले आवाज उठाएका थिए ।

उपचारपछि पनि बिरामीले आफ्नो खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । विशेषगरी स्तन क्यान्सर र पाठेघरको क्यान्सर लगायतका क्यान्सरको शल्यक्रिया गरेका महिलाहरूले गहु्रँगो सामान उठाउन नहुने र शरीरको मांसपेशीको अवस्था हेरेर मात्र सक्रिय हुनुपर्ने बताइएको छ ।

५५ औं क्यान्सर सर्भाइकल दिवसका अवसरमा नेपाल क्यान्सर अस्पतल एण्ड रिसर्च सेन्टरले चिकित्सक, क्यान्सर विजेता, विशेषज्ञहरु, संचारकर्मी लगायतको उपस्थितिमा बृहत छलफल तथा जिज्ञासा आदान प्रदान र समस्याको समाधान खोज्ने उदेश्य राखेको थियो । क्यान्सर पिडितले मेकअप गर्नुहुन्छ तर हेभी केमीकलयुक्त मेकअप गर्नु हुन्न भन्ने बिषयमा पनि डा. सुदीप श्रेष्ठले जानकारी गराए । 

त्यस्तै डा. प्रभात ठाकुरले क्यान्सर बिरुद्धको नियमित खोपका बारेमा जानकारी गराए । त्यस्तै नेपालमा एचपीपी डिएनए खोपको मात्रा कम भएकाले बढी प्रभावित किशोरीमा मात्र अनिवार्य गरिएको र ४ वटा जिल्लामा किशोरमा पनि परिक्षणका रुपमा शुरु भएको जानकारी गराईयो । कार्यक्रममा क्यान्सर अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले क्यान्सर विजेतालाई आफ्ना जिज्ञासा राखेर समाधानको बाटो पहिल्याउन आफूले कार्यक्रममा स्वागत गरेको बताइन्  । 

कार्यक्रममा नीति बनाउँनेले सरकारले सबै सुविधा दिने सरकारी निकायलाई हेरेर नीति बनाउँदा निजी क्षेत्रबाट संचालित अस्पतालहरु मारमा परेको डा ठाकुरले बताए । उनले नीति बनाउँने योजनाकारहरुले सरकारी सरह शुल्कमा सेवा दिनुपर्छ भन्ने नीति बनाईरहदा सरकारीमा जस्तै सुविधा दिनुपर्छ भन्ने किन सोच्नुहुन्न ? यसरी अघि बढ्दा कतिपय निजी क्षेत्रबाट संचालित स्वास्थ्य संस्थाहरु बन्द हुने अवस्थामा पुगेका छन भने ।