काठमाडौँ।
बर्दिया जिल्लाकी २७ वर्षीया सुशीला रेग्मी ब्रेन ट्युमरबाट पीडित छन्। आर्थिक अवस्था कमजोर भएकाले उनको परिवारले उपचार खर्च जुटाउन आम नेपाली, मनकारी व्यक्ति तथा संघ–संस्थासमक्ष सहयोगको अपिल गरेका छन्।
पछिल्लो पाँच वर्षदेखि ब्रेन ट्युमरबाट पीडित सुशीलाको उपचार आफन्त तथा शुभेच्छुकको सहयोगमा हुँदै आएको छ। उनका दाजु सन्तोष रेग्मीका अनुसार २०७७ सालमा पहिलोपटक शल्यक्रिया गरिएको थियो। त्यसपछि २०८१ सालको जेठमा दोस्रो र २०८२ सालको जेठमा तेस्रोपटक शल्यक्रिया गरिएको हो।
यसैगरी, गत कार्तिक र मङ्सिरमा काठमाडौँस्थित वीर अस्पतालमा एक महिनाको अन्तरालमा चौथो र पाँचौँ शल्यक्रिया गरिएको थियो। हाल उनी भारतस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) मा आईसीयूमा उपचाररत छन्। बिहीबार मात्र उनको छैटौँ शल्यक्रिया सफल भएको परिवारले जनाएको छ।
उपचारमा संलग्न चिकित्सक टोलीले शल्यक्रियापछि रेडियोथेरापी गर्नुपर्ने बताएपछि थप उपचार खर्चका लागि परिवारले मानवीय सहयोगको अपिल गरेको हो।

“अहिलेसम्मको उपचारमा करिब २२ देखि २४ लाख रुपैयाँ खर्च भइसकेको छ,” दाजु सन्तोषले भने, “परिवारको आयस्रोत कृषि मात्रै भएकाले अबको उपचार खर्च जुटाउन निकै कठिन भएको छ।” उनका अनुसार सहयोगको अपील गरी केही आफन्त तथा शुभेच्छुकहरूकाे सहयोगमा पहिले पनि उपचार गरिसकेका छन्, तर थप उपचारका लागि अझै सहयोग आवश्यक छ।
“हाम्रो बहिनीको अमूल्य जीवन बचाउन तपाईंहरूको सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ,” सन्तोषले आग्रह गरे।
बर्दियाको बारबर्दिया नगरपालिका–६ निवासी उमाकान्त रेग्मीकी छोरी सुशीला सामान्य किसान परिवारमा जन्मिएकी हुन्। कमजोर आर्थिक अवस्थाका कारण उनको जीवनरक्षाका लागि सहयोगी हातको अपेक्षा गरिएको परिवारले जनाएको छ।
सुशीला रेग्मीको उपचारका लागि उनका दाजु सन्तोष रेग्मीको नाममा सिद्धार्थ बैंकमा खाता नम्बर ०१६१५६००७०० खोलिएको छ। थप जानकारी तथा सहयोगका लागि सन्तोष रेग्मीको मोबाइल/ह्वाट्सएप नम्बर ९८०८१५५२००/ +919266770829 मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
Siddhartha Bank
Name : Santosh Regmi
Account nomber : 01615600700
Branch : Gongabu Ganeshthan












प्रतिक्रिया