काठमाडौं
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार संघ (क्यान)को ३१ औं स्थापना दिवसको अवसरमा वरिष्ठ चित्रकार मदन चित्रकारलगायत १५ जना कलाकार पुरस्कृत भएका छन् भने एक जना कला व्यवसायी सम्मानित भएका छन् । ललितपुरमा बुधबार आयोजित कार्यक्रममा क्यानले २५ हजार रुपैया राशीको सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कारबाट वरिष्ठ चित्रकार मदन चित्रकारलाई पुरस्कृत गरेको हो । त्यस्तै २० हजार राशीको क्रोधकला शिरोमणि पुरस्कारबाट वरिष्ठ कलाकार हरिप्रसाद वैद्य सम्मानित हुनुभएको छ ।१५ हजार राशीको मुल्मी ग्राफिक डिजाइन अवार्ड अशोकमान सिं र १० हजार राशीको अमात्य कला पुरस्कार कलाकार रत्नकाजी शाक्यलाई प्रदान गरियो ।

त्यसैगरी १० हजार राशीकै हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार, क्यान सिग्देल आर्ट पुरस्कार र निर्वाण कला सम्मान क्रमशः चराचुरुंगीतर्फ सुदीप बस्याल, सम्झना राजभण्डारी, मानकाजी श्रेष्ठ, मुकुन्द प्रयास ले प्राप्त गरेका छन् ।
कार्यक्रममा पाँच हजार राशीको क्यान आइडियल कला पुरस्कार चित्रकार अजय देशारलाई प्रदान गरिएको थियो ।
कलाकार सुष्मा श्रेष्ठ संरक्षक रहनुभएको कलालेखनका क्षेत्रमा प्रदान गरिएको नारायणदेवी स्मृति पुरस्कार पत्रकार श्याम स्मृतले प्राप्त गरेका छन् ।

यसैगरी क्यान सिग्देल आर्ट पुरस्कारबाट बालकृष्ण स्मृति कला पुरस्कारबाट कलाकार लिलाधर केसी, राजेश मानन्धर कार्टुन अवार्डबाट पानसिङ तोमार, ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कारबाट कलाकार चन्द्रमणि मगर, ऋचा मैनाली रिजाल स्मृति पुरस्कारबाट कलाकार अनमारी तामाङ, तथा मनबहादुर जितीमाया पुन साइन आर्ट पुरस्कारबाट भुवन गुरुङ पुरस्कृत भएका छन् ।

कार्यक्रममा वरिष्ठ चित्रकार शशी शाह, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, क्यानका अध्यक्ष प्रेम श्रेष्ठ, पूर्व मिस नेपाल श्रृंखला खतिवडा लगायतले पुरस्कृतहरुलाई प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा क्यानका अध्यक्ष प्रेम श्रेष्ठले कला क्षेत्रमा आवद्ध विभिन्न व्यक्तिहरुले विभिन्न क्षेत्रका कलाकारहरुलाई समेट्ने गरी पुरस्कार स्थापना गरेको र बार्षिक रुपमा नियमित कार्यक्रम हुँदै आएको जानकारी दिंदै नेपालमा विभिन्न क्षेत्रका कलामा सक्रिय कलाकारहरु आवद्ध रहेको क्यानको जिल्ला स्तरीय शाखा समेत रहेको बताए ।











प्रतिक्रिया