रामेछाप ।
मन्थली नगरपालिकाले नगर भित्र उत्पादन भएका कृषि उपज र लघु उद्यमका सामग्रीहरूको प्रदर्शनी मेला गर्ने भएको भएको छ ।
नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी पुस २६ र २७ गते कृषि तथा लघु उद्यम प्रदर्शनी मेला २०८२ गर्न लागेको जानकारी गराएको हो । मन्थली नगरपालिका वडा नं १३ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक नवराज थापा मगरको अध्यक्षतामा पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराइएको हो ।
मन्थली वडा नं। १ स्थित हाटेचौरमा हुने प्रदर्शनी मेलाको उद्घाटन बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ ।
पत्रकार सम्मेलनमा आर्थिक विकास समितिका संयोजक नवराज थापामगरले प्रदर्शनीमा सहभागी हुनका लागि ५३ वटा आवेदन प्राप्त भएको बताए । जसमा कृषि विधा तरकारी, फलफूल, नर्सरी तर्फ ३६ वटा, पशुपन्छी बोका, वटा, दुग्धजन्य पदार्थ तर्फ ६ वटा र लघु उद्यम होसियारी, दुना टपरी, ढाका, गलैँचा आदि तर्फ ११ वटा स्टलहरू रहनेछन् । सहभागी किसान र उद्यमीहरूलाई नगरपालिकाले निःशुल्क स्टल उपलब्ध गराउनुका साथै खान, बस्न र सामग्री ढुवानीमा समेत व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
किसान र उद्यमीबिच सीप र प्रविधि साटासाट गर्ने र उत्पादकलाई सिधै उपभोक्तासँग जोड्ने हाम्रो मुख्य लक्ष्य रहेको संयोजक थापामगरले जानकारी गराए । मेलामा उत्कृष्ट विभिन्न १० विधाका कृषक तथा उद्यमीलाई जनही ६ हजार ७ सय रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बताए ।
गत वर्षको प्रदर्शनीमा करिब ७ हजार दर्शकले अवलोकन गरेका थिए भने १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष सो सङ्ख्या र कारोबारमा थप हुने नगरपालिकाको अपेक्षा गरेको छ । यसका लागी ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।











प्रतिक्रिया