काठमाडौं ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनको समग्र सुदृढीकरणका लागि सामूहिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन र नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट बिहीबार भर्चुअल माध्यममार्फत आयोजित निर्देशन सम्बोधनमा आईजीपी कार्कीले आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलता, समसामयिक चुनौती र प्रहरीको कार्यसम्पादनका विषयमा स्पष्ट निर्देशन दिएका हुन् ।
उनले समाजमा देखा परिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न यथोचित सुरक्षा रणनीति निर्माण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिए। कुनै पनि किसिमका अपराधविरुद्ध कडाइका साथ कारबाही गर्दै सबै प्रहरी कर्मचारीले आ–आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक बहन गर्नुपर्ने उनको निर्देशन थियो।
आईजीपी कार्कीले पारदर्शी र वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, अवैध हातहतियार बरामद, तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखी थप सक्रिय भएर काम गर्न निर्देशन दिए। भिड नियन्त्रणका क्रममा सिलसिलेवार बल प्रयोगको सिद्धान्त अवलम्बन गर्नुपर्ने र सवारी दुर्घटना न्यूनीकरणमा थप क्रियाशील हुनुपर्ने उवले उल्लेख गरे।
आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी प्रभावकारी कार्यान्वयन गर्न आईजीपी कार्कीले निर्देशन दिए। साथै, आ–आफ्नो कार्यक्षेत्रमा स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।
नागरिकसँगको सम्बन्धमा शिष्ट बोली, वचन र व्यवहार अपनाउँदै गुनासो सम्बोधनमा थप सक्रिय हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए।
भर्चुअल कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।











प्रतिक्रिया