काठमाडौँ
नेपाली दर्शकहरूका लागि निरन्तर कन्टेन्ट प्रस्तुत गर्दै आएको डिसहोम गो ओटिटी एपले भोलि शुक्रबारदेखि नेपाली सिरिज “घर… एक सपना” आफ्नै एपमार्फत स्ट्रिमिङका लागि उपलब्ध गराउने भएको छ।
चर्चित कलाकार सरोज खनाल, लक्ष्मी गिरी र विश्व बस्नेतलगायतको सशक्त अभिनय रहेको यस सिरिज अब दर्शकहरूले डिसहोम गो ओटिटी एपमा सहज रूपमा हेर्न सक्नेछन्। आयुषा पोखरेलको प्रस्तुति रहेको सिरिजले एक नेपाली परिवारको बिखरिँदो सम्बन्ध, जिम्मेवारी, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक तथा यथार्थपरक ढंगले प्रस्तुत गरेको छ ।
सिरिजको कथावस्तुले पात्रहरूलाई जीवनका कठोर मोडमार्फत अघि बढाउँदै घर, परिवार र सम्बन्धको वास्तविक मूल्य बुझ्ने भावनात्मक यात्रामा लैजान्छ। लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा तयार भएको यस सिरिजमा नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रका अनुभवी र लोकप्रिय कलाकारको सशक्त अभिनयले कथा अझ प्रभावशाली बनेको छ ।
सिरिजमा विश्व बस्नेत, सुरेश थापा, सृजना अधिकारी, बिप्लभ लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको समेत अभिनय देख्न पाइनेछ । पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव र सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिरिजलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।
डिसहोम गो ओटिटी एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद, चलचित्र, सिरिज, विविध मनोरञ्जनात्मक सामग्री तथा प्रत्यक्ष टेलिभिजन सहज रूपमा उपलब्ध छन् । डिसहोमले आफ्ना दर्शकलाई गुणस्तरीय, नयाँ र मौलिक नेपाली सामग्री प्रदान गर्दै डिजिटल मनोरञ्जनको अनुभवलाई अझ समृद्ध र रोमाञ्चक बनाउँदै आएको छ ।











प्रतिक्रिया