काठमाडौँ ।
महालक्ष्मी विकास बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त सभाले बैंकको आर्थिक, व्यवस्थापकीय तथा नीतिगत विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।
सभामा २०८२ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१÷८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा बाँडफाँड, इक्विटीमा भएको परिवर्तन लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ । साथै सञ्चालक समितिको प्रस्तावअनुसार कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट अनुमोदन गरिएको छ ।
स्वीकृत प्रस्तावअनुसार आर्थिक वर्ष २०८१÷८२ को वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०८०÷८१ को तुलनामा २०८१÷८२ को अन्त्यमा समग्र वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको जनाएको छ । आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ ।
साधारण सभाले बैंकको नियमावली बमोजिम संस्थापक सेयरधनी समूह (क) बाट ३ जना र सर्वसाधारण सेयरधनी समूह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचन गरेको छ । संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरी र ग्रोइङ प्रा.लि.का तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् ।
नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सुझावलाई आत्मसात गर्दै बैंकका गतिविधिहरूलाई थप परिमार्जन र विशिष्टीकरण गरी ग्राहक सन्तुष्टि, लगानीको उचित प्रतिफल तथा गुणस्तरीय वित्तीय सेवा प्रवाहमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सेयरधनी तथा सम्पूर्ण सरोकारवाला पक्षप्रति सहयोगका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।











प्रतिक्रिया