सिटिजन्स सन्तुलित योजनाको लागि माग गरेभन्दा २५ प्रतिशत बढी रकमको आवेदन


काठमाडौं ।

सिटिजन्स सन्तुलित योजनाको लागि माग गरेभन्दा २५ प्रतिशत बढी रकमको लागि आवेदन परेको छ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रही पुस ४ गतेदेखि १८ गतेसम्म खुल्ला गरिएको इकाइमा मागभन्दा बढी आवेदन परेको हो ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने १ अर्ब रुपियाँ आकारको चौथो बन्दमुखी योजना ‘‘सिटिजन्स सन्तुलित योजना”को इकाई बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई योजनाको सार्वजनिक निष्काशन तथा बिक्री गरेको थियो । तोकिएको अवधि भित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोडभन्दा बढी अर्थात् माग गरे भन्दा २५ प्रतिशत बढी रकमका लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

साथै सिटिजन्स क्यापिटल लिमिटेडबाट संचालन हुने यस योजना बढी आवेदन प्राप्त भएका म्युचुअल फण्ड मध्ये एक हुन सफल भएको कम्पनीको भनाइ छ । यस योजना प्रति आम लगानीकर्ताको आकर्षण तथा उल्लेखनिय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेड नेपालको पूँजी बजारमा एउटा दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रुपमा स्थापित रहेको प्रतिबिम्बित भएको कम्पनीको दाबी छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीको समेत लगानी रहेको छ भने यस कम्पनीका अध्यक्षको रुपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सबिर बादे श्रेष्ठ रहेका छन् । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आईरहेको संस्था हो ।

कम्पनीले आगामी दिनहरुमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानी मैत्री सेवाहरु सँगै लगानीकर्ताहरुलाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवाहरु प्रदान गर्दै गर्ने छ र निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजनाहरु सञ्चालन गरिनुका साथै हाल सञ्चालनमा रहेका योजनाहरुमा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यले कार्यरत रहने प्रतिबद्धता व्यक्त गरेको छ ।