भीजीमोटर्सद्वारा ड्राइभिङ प्रशिक्षकलाई ईभी सञ्चालनसम्बन्धी तालिम सम्पन्न


काठमाडौँ
विद्युतीय सवारी साधन (ईभी)को सुरक्षित सञ्चालन र सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले भीजीमोटर्सले ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई लक्षित गर्दै विशेष “ट्रेनिङ अफ ट्रेनर्स (टोट)“ तालिमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।

साउन १० गते शनिबार, काभ्रेको बनेपास्थित संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा आयोजित उक्त तालिममा देशभरका सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी प्रशिक्षकको सहभागिता रहेको थियो । भीजीमोटर्सले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको यस तालिमको मुख्य उद्देश्य विद्यालय र सार्वजनिक सवारी साधनका चालकलाई सुरक्षित, सचेत र जिम्मेवार बनाउँदै दीर्घकालीन प्रभाव कायम गर्नु रहेको बताइएको छ ।

तालिममा सहभागी प्रशिक्षकलाई ईभी सम्बन्धी प्रविधि, सञ्चालन शैली, सुरक्षाका उपाय, र व्यवहारिक सीपबारे गहिरो प्रशिक्षण प्रदान गरियो ।
प्रशिक्षणको दौरान प्रशिक्षकले ईभीको तत्काल गतिवृद्धि (टर्क रिस्पोन्स), आकस्मिक ब्रेक नियन्त्रण, रिजेनेरेटिभ ब्रेकिङ, साइलेन्ट अपरेसनका कारण देखिने जोखिम, स्टेरिङ र ब्रेकिङ संवेदनशीलता जस्ता महत्वपूर्ण पक्षको अभ्यास गर्न पाएका थिए ।

त्यस्तै, ड्यासबोर्डका सूचक जस्तै पावर मोटर मोड, टर्टल मोड आदि बुझ्ने तरिका पनि प्रशिक्षणको अंश थियो । तालिम अनुभवी र देश–विदेशमा अध्ययन गरिसकेका विशेषज्ञ प्रशिक्षकद्वारा सञ्चालन गरिएको थियो ।

भीजीमोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतम, जसले फिनल्याण्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेका छन् ।
“हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्न पनि प्रतिबद्ध छौं । प्रशिक्षकमार्फत अब हामी विद्यालय तथा सार्वजनिक सवारी चालकहरूलाई देशव्यापी रुपमा प्रशिक्षण दिन सक्षम हुनेछौं ।”

त्यस्तै, भीजीमोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो तालिम पहिलो चरण मात्र भएको र निकट भविष्यमा दोस्रो चरणको तालिम आयोजना गरिने जानकारी दिनुभयो ।
उनले भने, “हामी यो सीपलाई ड्राइभिङ इन्स्टिच्युटमार्फत अन्तिम प्रयोगकर्तासम्म पु¥याउन चाहन्छौं, जसले चालक, यात्रु र परिवार सबैलाई सुरक्षित बनाउँछ ।“

तालिम समापनमा सहभागी प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरिनुका साथै ईभी सुरक्षा र दक्षतामा योगदान पु¥याउने अग्रणी व्यक्तित्वलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो ।