अमेरिकामा फस्टाउँदै चिनियाँ लकिन कफी

स्टारबक्स, डंकिन र टिम होर्टन्सलाई चुनौती

0
Shares

एका बिहानै अमेरिकी सहर म्यानहटनको व्यस्त सडकमा हिँडिरहेकी अन्ना नामकी एक युवतीले अचानक एक चम्किलो निलो बोर्ड देखिन् । जसमा लेखिएको थियो “लक्किन कफी” को नयाँ स्टोर र कफीको मूल्य मात्र १.९९ अमेरिकी डलर । म्यानहटनजस्तो महँगो सहरमा उनलाई यो पत्याउनै मुश्किल प¥यो । अन्नाले मनमनै सोचिन् र तुरुन्तै मोबाइल एप डाउनलोड गरिन् अनि कफी अर्डर गरिन् । पाँच मिनेटमै ब्ल्याक कफी आफ्नो हातमा पाइन्, न लामो लाइन, न त सेवा नै ढिलो ।

उनले यसबारे आफ्नो साथीलाई जानकारी दिइन । अनि ती साथीले पनि अर्को साथीलाई खबर गरिन । यसरी एकबाट दुई, दुईबाट चारको दरले द्रुत गतिमा लकिन कफीको बजार फस्टाउँदै गइरहेको छ अमेरिकामा । चीनबाट आएको लकिन ब्रान्डको कफीले अमेरिकाको मुटुमा नै प्रवेश गरिसकेको छ । सन २०१७ मा चीनमा स्थापना भएको यो कम्पनीले डिजिटल माध्यम, सस्तो मूल्य र तीव्रगति सेवाका कारण छिटै सफलता चुम्यो । चीनमा १० हजार भन्दा बढी स्टोर खोलिसकेको लकिनले अब विश्व बजारमा पाइला टेक्न थालेको छ र यसको राम्रो गन्तव्य बनिसकेको छ न्यूयोर्क सिटी ।

सस्तो कफी, चुस्त सेवा

न्यूयोर्कमा सामान्य रूपमा स्टारबक्सको कफीको मूल्य ४ देखि ५ डलर पर्छ । तर, लकिनले भने त्यसको आधा मूल्यमा कफी विक्री गरिरहेको छ । १.९९ अमेरिकी डलर मूल्यमा ग्राहकहरू उत्साहित छन् । विशेषगरी ती जसले प्रिमियम स्वाद सस्तो मूल्यमा खोजिरहेका थिए । लकिनको बिजनेस गर्ने तौरतरिका अत्याधुनिक छ । सबै अर्डर मोबाइल एपमार्फत हुन्छ । ग्राहकले एपमा अर्डर गर्छन्, पिकअप वा डेलिभरी छान्छन् , जसले गर्दा लामो लाइनमा उभिनै पर्दैन ।

नाम चलेका ब्राण्ड सशंकित

कफीको संसारमा स्टारबक्स, डंकिन र टिम होर्टन्स जस्ता नाम चलेका ब्रान्डहरूले दशकौंदेखि अमेरिकाको कफी बजारमा राज गर्दै आएका छन् । तर, मूल्य वृद्धि, सेवा ढिलो हुने समस्याले आलोचित पनि बन्दै आइरहेका छन । अहिले लकिन कफीको प्रवेशसँगै यी नाम चलेका ब्रान्डमा सन्त्रास छाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार लकिन कफीको मूल्य प्रतिस्पर्धीहरूको तुलनामा झन्डै ३० प्रतिशत कम छ । अब अमेरिकामा ‘सस्तो, छिटो र डिजिटल’ सेवा खोज्ने उपभोक्ताहरू लकिनतर्फ आकर्षित हुने छाँटकाँट देखिएको छ ।

गल्ती सुधारेर प्रगतिको बाटोमा

सन २०२० मा लकिनले ठूलो वित्तीय घोटालाको सामना गर्नु परेको थियो । तर, कम्पनीले त्यसपछि आफ्नो छवि सुधार ग¥यो । अहिले राम्रो आम्दानी गरिरहेको छ र अब अन्तर्राष्ट्रिय बजारमा पनि उत्कृष्ट पुनरागमन गर्दैछ । सर्वेक्षणमार्फत डाटा संकलन गर्ने जर्मन संस्था ‘स्टाटिस्टा’ का अनुसार २०२५ सम्म विश्व कफी बजार ४८५.५९ बिलियन डलर पुग्ने विश्लेषण गरिएको छ । जसमा लकिन त्यो बजारमा आफ्नो हिस्सा सुरक्षित गर्न अघि बढिरहेको छ ।

उपभोक्ताहरूमा लकिनको प्रभाव

अब अमेरिकी उपभोक्ताहरूले सस्तो मूल्यमा प्रिमियम कफिको स्वाद अनुभव गरिरहेका छन् । ती ग्राहकहरू जसले समय र सुविधालाई प्राथमिकता राख्छन्, उनीहरूको लागि लकिनको एप–आधारित मोडेल आकर्षक बन्नेछ । तर, चुनौतीहरू पनि छ । ब्रान्ड विस्तार गर्नु, आपूर्तिमा विश्वसनीयता कायम राख्नु र स्थानीय नियम कानूनको पालना गर्नु सजिलो छैन । के स्टारबक्सले आफ्नो मूल्य घटाउनेछ ? के डंकिन र टिम होर्टन्सले आफ्नो सेवा सुधार गर्नेछन ? के लकिन नै भविष्यको ‘डिजिटल कफी’ राजा बन्नेछ ? भन्ने यावत प्रश्नहरू पनि अहिले उठ्न थालेका छन् । यी प्रश्नहरुले न्यूयोर्कको गल्लीमा अहिले कफीको मात्र होइन, प्रतिस्पर्धाको ताप पनि महसुस गर्न सकिन्छ । लकिनको आगमनले कफी प्रेमीहरूलाई नयाँ अनुभव मात्रै दिलाएको छैन, ठूला ब्रान्डहरूमा अब समय बदलिएको भनेर एक प्रकारको अप्रत्यक्ष सन्देश पनि प्रवाह गरेको छ ।