पासाङ ल्हामु शेर्पा, यो नाम आज पनि साहस, आत्मबल र अटुट संकल्पको प्रतीक बनेको छ । उनको निधन भएको ३३ वर्ष बितिसक्दा पनि नेपाली महिलाहरूलाई उनी निरन्तर प्रेरणा दिइरहेकी छन् । सन् १९६१ डिसेम्बर १६ मा सोलुखुम्बुको विकट भेगमा जन्मिएकी पासाङको जीवन कुनै सुविधाजनक परिवेशमा सुरु भएको थिएन । उनका पिता फुर्भाकीटर शेर्पासँग सानैदेखि संगसंगै हिमालको यात्रा गर्दै उनले हिमालप्रतिको गहिरो नाता बनाइन्, जुन सम्बन्धपछि उनका जीवनको अभिन्न अंश बन्यो ।
पासाङ ल्हामुको प्रारम्भिक जीवनमा सगरमाथा चढ्ने सपना थिएन । यो लक्ष्य पछि मात्र जन्मियो, जब उनी एक ट्रेकिङ कम्पनीकी मालिक बनिन् । त्यो व्यवसायिक यात्राले उनी र हिमालबीचको सम्बन्ध अझ गहिरो बनायो । उनले चो ओयू, याला पीक, पिसाङ र युरोपको प्रसिद्ध मोन्त ब्लाङ जस्ता दर्जनौं चुचुराहरूमा पाइला टेकिन् । तीन सन्तानकी आमा भए पनि पर्वतारोहणप्रतिको उनको मोह र निष्ठा कहिल्यै कम भएन । आमाको भूमिकाबाट प्रेरित हुँदै उनले पारिवारिक जिम्मेवारी बोकेको महिलाले पनि असम्भव लक्ष्यहरू प्राप्त गर्न सक्छिन् भनेर देखाइन् ।
जब उनले सगरमाथा चढ्ने दृढ निश्चय गरिन्, त्यो केवल व्यक्तिगत लक्ष्य मात्र थिएन । त्यो एक सांकेतिक संघर्ष थियो, नेपाली महिलाहरूको सम्भावनाका लागि । अब उनी केवल सोलुखुम्बुको एक सामान्य युवती होइनन्, एक अनुभवी पर्वतारोही थिइन्, जसले संसारकै सबैभन्दा अग्लो चुचुरो चढ्ने आँट गरिन् । तर, यो यात्रा सरल थिएन । उनले सन् १९९३ मा सफल हुनु अघि तीनपटक असफल प्रयास गरिन् । ती असफलताले उनको आत्मबललाई कमजोर पारेन, बरु अझ बलियो बनायो ।

१९९३ अप्रिल २२ को दिन पासाङ ल्हामुले सगरमाथाको शिखरमा पाइला टेकेर नेपाली महिलाको नाम इतिहासमा लेखाइन् । सन १९७५ मा जापानी महिला जुनको ताबे सगरमाथा चढ्ने पहिलो महिला बनेकी थिइन् । त्यसको १८ वर्षपछि मात्र पासाङ पहिलो नेपाली महिला बनिन जसले सगरमाथा चढ्न सफल भइन् । यो विजय केवल उनको मात्र थिएन, यो सम्पूर्ण देशको, विशेषतः नेपाली महिलाहरूको जित थियो । तर, त्यो ऐतिहासिक सफलता उनको अन्तिम यात्रासमेत बन्यो । फर्कने क्रममा टोलीकी सदस्य सोनाम छिरिङ शेर्पा गम्भीर बिरामी हुँदा पासाङले उनलाई एक्लै छोड्न चाहिनन् ।
सहयोगको पर्खाइमा उनी सोनामको साथमै रहिन्, यो आत्मत्यागको एउटा अद्वितीय उदाहरण समेत हो । दुर्भाग्यवश, मौसम बिग्रँदै गयो र उद्धार टोली समयमै पुग्न सकेन । आँधीबेहेरीका कारण अन्ततः पासाङ ल्हामुको जीवन त्यही हिमालमा समाप्त भयो, जुन चढ्ने सपना लिएर उनले जीवन समर्पित गरेकी थिइन् । उनको निधन सम्पूर्ण राष्ट्रका लागि दुःखद क्षण थियो । तर, उनको बलिदान व्यर्थ गएन । काठमाडौंमा आयोजित अन्त्येष्टि समारोहमा हजारौंले सहभागी भई उनलाई श्रद्धाञ्जली अर्पण गरे । नेपाल सरकारले पासाङ ल्हामुलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान ग¥यो । ७,३१५ मिटर अग्लो जसाम्बा हिमाललाई ‘पासाङ ल्हामु हिमाल’ नाम दिइयो । त्रिशूली–धुन्चे राजमार्गलाई ‘पासाङल्हामु राजमार्ग’ नामाकरण गरियो र उनको सम्झनामा हुलाक टिकटहरू पनि जारी गरिए ।
आज विद्यालयहरूमा उनको जीवनी पढाइन्छ, जसले नयाँ पुस्ताका युवतीहरूलाई ठूला सपना देख्न र ती सपना साकार पार्न प्रेरणा दिइरहेको छ । ३३ वर्ष बितिसक्दा पनि पासाङ ल्हामु शेर्पाको नाम मेटिएको छैन । उनी आज पनि प्रेरणाको ज्वालामुखीझैँ प्रस्फुटित भइरहेको छ यो प्रमाणित गर्दै कि जब महिलाहरूले आफ्ना सीमाहरू तोड्न आँट गर्छन्, तब उनीहरूले इतिहास बनाउँछन् । पासाङ ल्हामुको जीवनले हामी सबैलाई साँचो शिखर केवल उचाइमा पुग्नु होइन, बरु चुनौतीहरूका बीचमा पनि अघि बढ्ने साहस राख्नु भनेर सन्देश दिन्छ ।











प्रतिक्रिया