यूईएफएद्वारा आयोजना हुने महिला युरो कपको नयाँ तथा १४ औंसंस्करण यही जुलाई २ देखि स्विट्जरल्यान्डमा शुरु भइसकेको छ । जसमा, १६ टोलीले सहभागिता जनाएको छ । प्रतियोगितामा आयोजक स्विट्जरल्यान्डसँगैं डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड, फ्रान्स, डेनमार्क, स्पेन, स्विडेन, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्स, इटाली, जर्मनी, नर्वे, फिनल्यान्ड, आईसल्यान्ड सहभागि छन् भने पोल्यान्ड र वेल्सले पहिलो पटक प्रतिस्पर्धा गर्नेछन् ।
शुरुवाती खेलहरूको नतिजा पनि आइसकेको छ । जसमा, आयोजक टोली स्विट्जरल्यान्ड नर्वेसँग २–१ ले पराजित भएर खराब सुरुआत गर्नु परेको छ । यस्तै, फिनल्यान्डले आईसल्यान्डलाई १–० ले हराएको छ ।
महिला युरो २०२५ अन्तर्गत सहभागी टोलीहरू
समूह ए: स्विट्जरल्यान्ड, नर्वे, फिनल्यान्ड र आईसल्यान्ड
समूह बी : स्पेन, पोर्चुगल, बेल्जियम र इटाली
समूह सीः जर्मनी, पोल्यान्ड, स्विडेन र डेनमार्क
समुह डी: इंग्ल्यान्ड, वेल्स, फ्रान्स र नेदरल्यान्ड्स
जर्मनी सर्वाधिक सफल टोली
सन् १९८४ देखि शुरु भएको महिला युरो कपमा सर्वाधिक सफल टोली जर्मनी हो । फुटबलमा पुरुष टोली झैं जर्मनीको महिला टोली पनि अब्बल रहेको युरो कप, विश्वकप जस्ता उपाधि जितेर साबित गरिसकेको छ ।
जर्मनीले अहिलेसम्म ८ पटक उपाधि हासिल गरिसकेको छ । यसपछि नर्वेले दुई पटक उपाधि उचाल्दा स्विडेन, नेदरल्यान्ड्स र इंग्ल्यान्डले एक–एक पटक उपाधि उचाल्न पाएका छन् ।
गत २०२२ मा इंग्ल्यान्डमै भएको प्रतियोगितामा जर्मनी फाइनलमा घरेलु टोलीसँग पराजित भएको थियो । यो जर्मनीको पहिलो फाइनल हार थियो ।
केही तथ्यहरुः
-सन् १९८४ देखि महिला युरो कप शुरु भएकोमा पहिलो विजेता स्विडेन बन्यो ।
-सन् १९८४ देखि १९९५ सम्म ६ संस्करणमा केवल ४÷४ टोलीको मात्रै सहभागिता रहेको ।
-सन् १९८४ को पहिलो संस्करणमा स्विडेन, इंग्ल्यान्ड, इटाली र डेनमार्कले सहभागिता जनाएको ।
-सन् १९९७ देखि सहभागिता संख्या बढाएर ८ टोलीलाई प्रतिस्पर्धा गराएको ।
-सन् २००५ सम्म तीन संस्करणमा ८ टोलीको सहभागिता भएको ।
-सन् २००९ र २०१३ मा १२÷१२ टोलीको सहभागिता भएको ।
-सन् २०१७ देखि हालसम्म भने १६ टोलीले प्रतिस्पर्धा गरिरहेको ।











प्रतिक्रिया