जब मानिसको शरीरले आफ्नो सीमालाई पार गर्छ त्यतिबेला खेल मात्र हुँदैन, त्यो इतिहास बन्छ । दौडको संसारमा त्यस्तो इतिहास रच्ने चार यस्ता नाम छन् जसले समय, युग र सीमालाई जितेका छन् । ती चारजना एथ्लीट्सहरू जसले ट्रयाकमा जति दौडिए, उति नै संसारलाई प्रेरित गरे । उनीहरू हुन्, उसेन बोल्ट, कार्ल लुईस, माइकल जन्सन र जेसी ओवन्स ।
यी चारजना केवल दौड्ने खेलाडी मात्र थिएनन्, उनीहरू गति, धैर्य, शक्ति र मानव सम्भावनाको मूर्त रूप थिए । दौडको प्रत्येक मिटरमा उनीहरूले यस्तो कहानी लेखे जुन आज पनि पढिन्छ, मानिन्छ र पछ्याइन्छ । १ सय मिटरको विस्फोटक गतिबाट लिएर ४ सय मिटरको कठोर संघर्षसम्म उनीहरूले ट्रयाकमा केवल पदक जितेनन्, आफूलाई युगकै महानतम मध्येमा समावेश गरे ।
गतिका राजा उसेन बोल्ट
जब जमैकाका उसेन बोल्ट ट्रयाकमा उभिन्थ्यो, समय पनि रोकिए झैं लाग्थ्यो । उसेन बोल्ट, त्यो नाम हो जसले ‘छिटो दौडनु’ भन्ने कुरालाई नयाँ अर्थ दियो । उनले १ सय र २ सय मिटरमा बनाएका विश्व रेकर्डहरू आजसम्म अपराजित छन् । तीन ओलम्पिकमा उनको लगातार दबदबा, रमाइलो स्वभाव र आत्मविश्वासले उनलाई केवल खेलाडी होइन, २१औं शताब्दीको एक महान खेलाडीको प्रतीक बनायो ।
बहुप्रतिभाशाली कार्ल लुईस
यदि तपाईं सोच्नुहुन्छ कि स्प्रिन्टिङमा बहु–प्रतिभा सम्भव छैन भने अमेरिकी कार्ल लुईस तपाईंको सोच बदल्ने नाम हो । १ सय मिटर, २ सय मिटर र लङ जम्प, यी तीन वटै स्पर्धामा समान स्तरको उत्कृष्टता देखाउने विरलै एथ्लीट्सहरू मध्येका उनी पनि एक हुन् । ९ ओलम्पिक स्वर्ण पदक अनि ८० र ९० को दशकमा उनको निरन्तर सफलताले उनले ‘पूर्ण एथलीट’ को उपमा पाए ।
गति र धैर्यको अद्वितीय मेल माइकल जन्सन
सुनौलो जुत्ता, अविश्वसनीय गति र सीधा ढंगले दौड्ने स्टाइलिस्ट माइकल जन्सन त्यो नाम हो जसले २ सय र ४ सय मिटरमा नयाँ युगको सुरुवात गरे । उनले बनाएको ४ सय मिटरको विश्व रेकर्डले दशकभन्दा बढी समयसम्म ट्रयाकको सिंहासन सम्हालेको थियो । उनी त्यस्ता अमेरिकी खेलाडी हुन् जसले स्प्रिन्टर र सहनशील दुवै हुन सकिन्छ भनेर प्रमाण दिए ।
विरोधमा उभिएका महान जेसी ओवेन्स
सन् १९३६ को बर्लिन ओलम्पिक, जसले खेल मात्र होइन राजनीतिलाई पनि हल्लायो । जेसी ओवेन्स, अफ्रिकी मूलका अमेरिकी एथ्लीट हुन जसले नाजी जर्मनीको आँखा अगाडि नै चार ओलम्पिक स्वर्ण जिते । जहाँ उनले लङ जम्प, १ सय मीटर र २ सय मीटर दौड र ४ सय मीटर रिले दौडमा स्वर्ण पदक जितेका थिए । उनी ओलम्पिक खेलमा चारवटा स्वर्ण पदक जित्ने पहिलो अमेरिकी ट्रयाक एन्ड फिल्ड एथ्लीट थिए । उनको त्यो जित मात्र थिएन, त्यो एक सन्देश थियो भेदभाव, नश्लवाद र घृणाविरुद्धको । ओवेन्सको नाम आज पनि ट्रयाकमा मात्र नभई स्वतन्त्रताको प्रतीकका रुपमा सम्झिन्छ ।











प्रतिक्रिया