काठमाडौं ।
सन् २०२६ मा जापानको आईची–नागोयामा हुने २०औं एसियाली खेलका लागि दुई फरक निकाय युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले फरक–फरक खेल सूची आ–आफ्नै प्रक्रियाले दर्ता गरेपछि एसियाली खेलमा नेपालको सहभागिता गम्भीर अन्योलमा परेको छ ।
एनओसीले मंगलवार पत्रकार सम्मेलनमा संघमार्फत ३० खेलको सूची एसियन ओलम्पिक काउन्सिल (ओसीए) मा पठाएको जानकारी दिएको थियो । तर, त्यसको केही समयपछि नै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संयुक्त विज्ञप्ति जारी गर्दै एनओसीद्वारा पठाइएको सूचीलाई ‘अवैधानिक’ भन्दै मान्यता नदिने बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालय र जापानस्थित नेपाली दूतावासमार्फत ३१ खेलको सूची असार १६ गते नै दर्ता गराइसकेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । विज्ञप्तिमा एनओसीलाई वैधानिक मान्यता नभएको जिकिर गर्दै ती कागजात स्वीकार्य नहुने स्पष्ट पारिएको छ ।
तर, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले भने मन्त्रालय र राखेपबाट समयमै सहकार्य नआएपछि खेल संघमार्फत आफैंले सूची दर्ता गर्नुपरेको बताउनुभयो । श्रेष्ठका अनुसार खेल सूची दर्ताको अन्तिम म्याद जुन ३० भएकाले तोकिएको मितिभित्र ३० खेलको सूची पठाइएको हो ।
हाल एनओसीको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यद्यपि, जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओसीएले मान्यता दिइरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक चार्टरअनुसार ओलम्पिकसम्बन्धी प्रतियोगितामा प्रतिनिधित्व गर्ने अधिकार मान्यता प्राप्त एनओसीसँग मात्र हुन्छ ।
यही द्वन्द्वका कारण नेपालका खेल संघहरू र खेलाडीहरू अन्योलमा परेका छन् । यदि, समयमा विवाद समाधान नभएमा एसियाली खेलमा नेपालको सहभागिता नै संकटमा पर्ने देखिएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय छवि, खेलकुद संरचना र खेलाडीहरूको भविष्यमा दीर्घकालीन असर पार्नेछ ।
दुई निकायको सूचीमा मिल्दोजुल्दो र भिन्नता
दुवै निकायबाट समान रूपमा दर्ता गरिएका २२ खेल छन् । जसमा एथ्लेटिक्स, बक्सिङ, क्रिकेट, कबड्डी, कराते, ई–स्पोट्र्स, पौडी, जुडो, टेबल टेनिस, भलिबल, साइक्लिङ, गल्फ, टेनिस, भारोत्तोलन, कुस्ती, बास्केटबल, ब्याडमिन्टन, हक्की, सफ्ट टेनिस, स्क्वास, रग्वी र उसु छन् ।
मन्त्रालयबाट मात्र दर्ता गरिएका ९ खेलमा तेक्वान्दो, फुटबल, जिम्न्यास्टिक, इक्वेस्ट्रिन, फेन्सिङ, सुटिङ, ट्रायथलन, ह्यान्डबल र रोविङ छन् । एनओसीबाट मात्र पठाइएका ७ खेलमा आर्चरी, ब्रेकिन एन्ड डान्स स्पोट्र्स, बेसबल तथा सफ्टबल, ¥याफ्टिङ तथा क्यानोइङ, कुराश, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ रहेका छन ।
विवाद तत्काल समाधान गर्न एनएनआईपीएको आग्रह
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनओसी र राखेपबीचको विवादका कारण खेलाडीहरूको भविष्य अन्योलमा परेको भन्दै तत्काल समाधानको माग गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै संघले यस्तो विवादले अन्तर्राष्ट्रिय सहभागिता गुम्ने खतरा सिर्जना भएको उल्लेख गर्दै सम्बन्धित पक्षलाई आ–आफ्नो भूमिकामा स्पष्ट रहन र सहकार्य गर्न आग्रह गरेको छ । संघले यस्तो विवाद दोहोरिन नदिन दीर्घकालीन नीतिगत समाधान आवश्यक रहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया