अज्टेका स्टेडियममा लेखिएको “म्याच अफ द सेन्चुरी”

1.41k
Shares

कुरा सन् १९७०, फिफा विश्वकप सेमीफाइनलको हो । जुन समय जब संसार परिवर्तनको होडमा थियो । मानवले ब्रह्माण्डका रहस्यहरू विस्तारै खोल्दै थिए । लुना १७ अन्तरिक्ष यानले चन्द्रमामा अवतरण गरेको थियो, एपोलो १३ पृथ्वीमा सकुशल फर्किएको र बीटल्सले आफ्नो पुस्ताको सांगीतिक धुन गुन्जाइरहेका थिए । यसका बावजूद त्यो वर्षको सबैभन्दा अविस्मरणीय क्षण भने जून १७ को साँझ बन्यो । समय नै स्थिर जस्तो लाग्ने गरी मेक्सिको सिटीको अज्टेका स्टेडियममा एउटा फुटबल म्याच खेलियो ।

२ हजार मिटरको उँचाइमा रहेको त्यो मैदानमा सूर्य पश्चिमतिर ढल्किरहेको थियो । तापक्रम चर्किएको थियो, हावा सुस्त चलिरहेको थियो । तर, म्याचको उत्साह भने आकाश जस्तै अडिग थियो । त्यो कुनै सामान्य खेल थिएन, त्यो थियो फुटबलमा कहलिने ’शताब्दी खेल ।’ हुनत त्यसअघि “शताब्दी म्याच“ भनेर २५ नोभेम्बर १९५३ मा वेम्बली स्टेडियममा इंग्ल्याण्ड र हंगेरीबीचको म्याच परिचित थियो । तर, त्यो म्याचलाई १९७० को खेलले छाँयामा पा¥यो । एक लाख दर्शकको हुंकारले स्टेडियम गुञ्जायमान थियो । मैदानमा उत्रिएका थिए इटाली र पश्चिम जर्मनी । दुई भिन्न दर्शनका प्रतिनिधि । इटाली, जसले परम्परा, सौन्दर्य, र सन्तुलन बोकेका थिए । अर्कोतिर जर्मनी जसले ताकत, आत्मबल र अन्तिम साससम्म नझुक्ने जिद्द दर्शाउँथ्यो ।

खेलको आठौं मिनेटमै बोनिनसेन्याले गोल गर्दै इटालीलाई अग्रता दिलाए । उनको सटीक प्रहारपछि स्टेडियमको भुईँ थर्कीयो । झन्डा फहराईए र कम्मेन्टेटर मार्तेलिनीको आवाज टेलिभिजन तथा रेडियोबाट संसारभर गुन्जियो “गो—ओ—ल” भनेर । तर, त्यो जर्मन टोली थाक्नेवाला स्वभावका कदापि थिएन । खेल सकिनै लाग्दा ९२औं मिनेटमा कार्ल–हाइन्ज श्नेलिङ्गरले बराबरी गोल फर्काए । त्यो थियो उनको पहिलो अन्तर्राष्ट्रिय गोल । खेलमा अतिरिक्त आधा घन्टा समय थपियो । थकान, चर्को घाम र इतिहासको भारीले मैदान घेरिएका थिए । जर्मन कप्तान फ्रान्ज बेकेनबाउरको काँध डिस्लोकेट थियो, तर अरु खेलाडी प्रतिस्थापन्न गर्न विकल्प सकिएकाले उनी स्लिङ बाँधेर मैदानमा फर्किए । त्यो केवल खेल जारी राख्ने उनको साहस थिएन, त्यो एक राष्ट्रको आशाको भारी पनि थियो ।

थपिएको ३० मिनेट युद्धजस्तै बन्यो । जर्मनीले दोस्रो गोल गर्दै २–१ को अग्रता लियो । तर, इटाली पनि पनि के कम । ‘गर्जने बादल’ कहलिने गिगी रिभा अघि बढे अनि दुई गोल गर्दै इटालीलाई ३–२ को अग्रता दिलाए । तर, कथा यतिमै सकिएन । खेलको ११९औं मिनेटमा ‘डर बम्बर’ उपनाम पाएका गर्ड मुलरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । तर, समय अझै बाँकी नै थियो । अन्तिम मिनेट अर्थात खेलको १२०औं मिनेटमा गोलकिपर अल्बेर्टोसी चिच्याइरहेका थिए, “अझै एक मौका” भनेर । थकित तर आँटिला रिभाले रिभेरालाई संकेत गरे “छिटो बढ” भनेर । अन्ततः पाँच पासहरुमा खेल्दै नतिजा बदले । रिभा, बोनिनसेन्या, फाकेत्ती फेरि बोनिनसेन्या अनि अन्ततः रिभेराले बललाई जाली चुमाए ।

सधैं सहायक रहँदै आएका रिभेरा त्यो दिन नायक बने । उनले बल प्रहार गरेको दिशाभन्दा जर्मन गोलरक्षक मायेरले गलत ठाउँमा हाम्फाले । खेलको अन्तिम नतिजा ४–३ भयो । इटालीका मार्तेलिनीले हामीले जित्यौं भन्दै आफ्नै भाषामा “भिन्चियामो, भिन्चियामो“ भन्दै चिच्याए । त्यहाँ, त्यस क्षण, ध्वनि, हुंकार, आँसु, चिच्याहट र मौन सबै एकैचोटि मिसिए । जर्मन लेजेन्ड फ्रान्ज बेकेनबाउर टाउको झुकाएर मैदानमा बसिरहेका थिए । अर्कोतिर रिभा र रिभेरा अब केवल खेलाडी थिएनन्, युगका अमर प्रतीक बने । आज पनि अज्टेका स्टेडियमको ढोकामा सुनौलो अक्षरमा लेखिएको छ “पार्टिडो डेल सिग्लो” अर्थात “म्याच अफ द सेन्चुरी ।” तर, त्यो केवल फुटबलको म्याच मात्र थिएन । त्यो शक्ति, बुद्धि र आत्माको जिद्द थियो जुन एउटै मैदानमा भिडेका थिए ।