सपांग हुनु असाधारणताको शर्त होइन: समुद्रको गहिराइभन्दा गहिरो जियाको साहस

1.22k
Shares

उनीसँग पछि हट्ने कुनै बाटो थिएन, कुनै गुनासो थिएन । थियो त केवल एक अटुट आत्मबल र समुद्रको छाल जस्तै अडिग संकल्प । जब १३ वर्षीया जिया रायले श्रीलंकाको तलाईमन्नार किनाराबाट हिन्द महासागरको विशालता तर्ने आँट गरिन्, त्यो केवल पौडी प्रतियोगिता थिएन, त्यो एक मौन विद्रोह थियो पूर्वाग्रह विरुद्धको, परिभाषाहरू विरुद्धको । उनको गन्तव्य थियो भारतको तमिलनाडुस्थित धनुषकोडी । समुद्रले बिछ्याएको २९ किलोमिटर लामो एक चुनौतीपूर्ण मार्ग, जसलाई विश्वले ‘पाल्क स्ट्रेट’ को नामले चिन्छ । यो समुद्री बाटोले केवल भौगोलिक सीमाहरू मात्र छुट्याउँदैन, यो समाजले बनाएका मानसिक पर्खालहरूलाई पनि परिभाषित गर्छ । जियाले यही समुद्रलाई चुनौती दिइन् ।

१३ घन्टा १० मिनेट निरन्तर लहरसँग खेल्दै, आँधीसँग जुध्दै, उनले पार गरिन् त्यो दूरी । जुन लाखौंले केवल नक्सामा हेरेर चिन्ने गरेका छन् । तर, जियाको जित त्यो दूरी पार गर्नु मात्र थिएन । उनले जित्दै थिइन् “असक्षमहरूको संसार सीमित हुन्छ” भन्ने धारणा । उनी जित्दै थिइन् पूर्वाग्रह, भय र आफूलाई थोपारिएको ‘असक्षम’ को पहिचान । जिया अटिजम स्पेक्ट्रम डिसअर्डरसहित जन्मेकी थिइन् । बाल्यकालमै उनलाई “तिमी फरक छौं” भनिएको थियो ।

श्रीलंकाबाट भारतको यात्रा उनका लागि केवल सुरूवात थियो । त्यसको तीन वर्षपछि अर्थात २०२४ को जुलाई २८ र २९ मा उनले आँटिन् पृथ्वीको सबैभन्दा कठिन जलमार्गमध्ये एक ‘इंग्लिश च्यानल’ । कठोर हावा, चिसो पानी र अनिश्चितता भित्र उनले ३४ किलोमिटर लामो यात्रा १७ घण्टा २५ मिनेटमै पार गरिन् । त्यो दिन उनले इतिहास बनाइन्, अनि रेकर्ड राखिन सबैभन्दा कान्छी र छिटो भारतीय पारा–स्विमर बन्ने । तर, जिया पदकका लागि पौडिएकी थिइनन्, उनको हरेक स्ट्रोक चेतनाको आन्दोलन थियो । उनी पौडिन् अटिजमबारे आवाज उठाउन, पौडिन् समावेशी समाजको सपना बोकेर, अनि उनी पौडिन् ती लाखौं बालबालिकाहरूका लागि जसलाई समाजले ‘सक्दैनस्’ भन्ने ट्याग लगाउँछ ।

जियाले केवल रेकर्ड मात्र तोडिनन, उनले मौनता पनि तोडिन् । उनले तगाराहरू चिरे, असम्भव भनिएका पर्खालहरू भत्काइन् । जब उनी समुद्रमा डुबुल्की मार्छिन्, प्रत्येक लहर उनीसँगै सन्देश बोकेर आउँछ ‘सपांग हुनु असाधारणताको शर्त होइन’ भन्ने । अनि असाधारण बन्न समाजले बनाएको साँचोमा अटिनुपर्दैन भनेर । जियाको सफलता कुनै सामान्य लहर होइन । यो सूनामी हो आशाको, परिवर्तनको र प्रेरणाको । यो एउटा यस्तो वास्तविकता हो जुन केवल सुनेर मात्र पुग्दैन, महसुस गर्नुपर्छ, बुझ्नुपर्छ र अझ बढी यसबाट सिक्नुपर्छ । किनकि जियाजस्ता छोरीहरूले खेल मात्र परिवर्तन गर्दैनन्, उनीहरूले सिंगो महासागरको परिभाषा नै बदल्ने सामथ्र्य राख्छन् ।