कुरा नोभेम्बर २९, २०२३ को हो । अफ्रीकी राष्ट्र युगान्डाको राजधानी कम्पालाको एक दिनले बिहानको उज्यालोमा कुनै संकेत नदिई इतिहासको पाना कोर्न गइरहेको थियो । सडकमा उस्तै कोलाहल थियो । ट्याक्सीका हर्न, चिया पसलमा गफ, गल्लीभरी व्यापारी र किनमेल गर्नेहरूको भीड । तर, सहरको महिला अस्पतालको एउटा सानो कोठामा समय अर्कै गतिमा बहिरहेको थियो । त्यहाँ पल्टिएकी थिइन् ७० वर्षीया सफिना नमुकवाया । अनुहारमा सन्तोषको मुस्कान, आँखा अर्धमुद्रित, शरीर विश्राममा तर आत्मा भने प्रचण्ड ऊर्जाले भरिभराउ । साँझपछिको सूर्य जस्तै जुन अस्ताउने बेला अझ चम्किलो देखिन्छ, सफिनाको जीवन पनि त्यस्तै घामजस्तै चम्किन लागेको थियो । जहाँ धेरैले अब त जीवनबाट आनन्दका साथ मुक्ति लिन सास फेरिरहेका हुन्छन्, सफिना भने जीवनलाई पुनः शुरू गर्दै थिइन् । त्यो पनि एकचोटि होइन, दोहोरो रूपमा, जुम्ल्याहा सन्तानलाई जन्माएर ।
यो कथा २०२० मा शुरू भएको थियो, जब उनी ६६ वर्षकी थिइन् र पहिलोपटक छोरीकी आमा बनेकी थिइन्, इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) को सहाराले । त्यो छोरी केवल बच्चा मात्र थिइनन्, प्रतीक थिइन्, ढिलो भए पनि सपना अधुरो हुँदैन भन्ने उदाहरणको । समाजले जति नै “अब ढिलो भइसक्यो” भने पनि सफिनाको उत्तर सधैँ एउटै हुने गथ्र्यो “अझै शुरू हुन बाँकी छ ।” त्यसपछिको तीन वर्षसम्म संसारले उनलाई बिर्सियो होला, तर उनीभित्रको सपनाले भने उनलाई फेरि उकुसमुकुस गदै थियो । भित्रभित्रै अर्को जीवनको स्पन्दन कल्पिरहेकी थिइन् उनी । अनि सन् २०२३ मा फेरि त्यही अस्पताल पुगिन् । उस्तै मुस्कान, तर आँखामा अझ तीव्र चमकसहित । डाक्टरहरूले सम्झाए, चेतावनी दिए, उमेरको जोखिम र शरीरको क्षमताबारे सुझाए । तर, सफिना आफूले देखेको सपनाबाट अलिकति पनि विचलित बनिनन् । उनको अडिगताले फेरि एकचोटि चमत्कार सम्भव भयो । उनको विश्वास शल्यकक्षमा फेरि एकपटक साक्षात्कार बन्यो ।
बिहानको घाम जब शल्यकक्षको झ्यालबाट भित्र पस्दै थियो, पहिलो सानो रोदन सुनियो छोरो जन्मेको । केही सेकेन्डपछि फेरि अर्को रोदन गुञ्जियो छोरीको । त्यो क्षण अस्पतालको हरेक कुना चमत्कारको साक्षी बन्यो । नर्सहरूको आँखामा आँसु, पत्रकारहरूको क्यामेरामा झल्कँदो चमक र डाक्टरहरूको मनमा अचम्म र गर्वको मिश्रित भावना । सफिनाले त्यस दिन केवल बच्चा जन्माएकी थिइनन्, उनले एक असम्भव यात्राको नयाँ परिभाषा कोरेकी थिइन् । त्यो कोठामा जहाँ उनी आफ्ना नवजात सन्तानलाई काखमा सुम्सुम्याइरहेकी थिइन्, त्यहाँ कुनै तर्क, कुनै नैतिक बहस टिक्न सकेन । उनका डाक्टर माट्सिकोले “कहिलेकाहीँ विज्ञानले हिम्मतसँग हात मिलाउँछ, अनि चमत्कार जन्मिन्छ” भनेका थिए । आज सफिनाको नामसँग एउटा प्रकाश जोडिएको छ । त्यो प्रकाश जसले हजारौँ महिलाको मनमा सपनाको दियो बलिरहेको छ । जसले उमेर कुनै सीमारेखा होइन, इच्छा, आस्था र साहसले बनाउने एउटा विन्दु भनेर बयान गर्छ । यो कुनै कल्पनाको कथा होइन, न त फिल्मी पटकथा । यो त्यस्तो वास्तविकता त्यस्तो हो जसलाई साँझपछिको त्यो सूर्य मान्नुपर्छ, जसले अँध्यारो भन्दा पहिले संसारलाई फेरि एकचोटि चम्किलो बनाउँछ ।











प्रतिक्रिया