‘स्ट्रेट अफ हर्मुज’: संसारले सास फेर्ने साँघुरो जलमार्ग

2.07k
Shares

पृथ्वीको नक्सामा एउटा यति साँघुरो तर संवेदनशील स्थान छ, जसको शान्त जलमा दिनहुँ करोडौँ डलरको ऊर्जाले यात्रा गर्छ, त्यो हो स्ट्रेट अफ हर्मुज । जहाँबाट यात्रा गर्ने इन्धनले सारा संसारको ऊर्जा सञ्चार हुन्छ । नक्सामा देख्दा यो ३९ किलोमिटर लामो जलमार्ग शान्त र सौम्य लाग्छ, तर यसको महत्व गहिरो महासागर जत्तिकै छ । यही गल्लीमार्फत इराक, साउदी अरब, कुवेत, कतार, बहराइन र यूएईजस्ता खाडी राष्ट्रहरूको पेट्रोलियम र प्राकृतिक ग्यास विश्वभर फैलिन्छ । यहाँबाट मात्रै हरेक दिन १७ दशमलव २ मिलियन ब्यारेल तेल र एक–तिहाइ तरल प्राकृतिक ग्यास विश्व बजारमा पुग्छ । यो संख्याले मात्र होइन, यसको रणनीतिक स्थितिले पनि हर्मुजलाई संसारकै सबैभन्दा नाजुक ऊर्जाशील जलमार्ग बनाएको छ ।

जब तपाईं घरमा ग्यास बाल्नुहुन्छ वा गाडीमा इन्धन हाल्नुहुन्छ, सम्झनुहोस्, त्यो ऊर्जा हर्मुजको सामुद्रिक गल्ली चिरेर आएको हो भनेर । तर, यो केवल ऊर्जा यात्रा गर्ने मार्ग मात्र होइन, यो त संसारकै सबैभन्दा संवेदनशील युद्धभूमि पनि हो । सन् १९८० को इरान–इराक युद्धदेखि लिएर सन् २०१९ को चार जहाजहरूमाथिको आक्रमणसम्म । सन् १९८८ मा अमेरिकी युद्धपोतबाट गल्तीले खसालिएको इरानी यात्रुवाहक विमान होस् या जापानी तेल ट्यांकरमाथिको आतंकवादी हमला, यी सबै घटनाले पुष्टि गर्छन् कि हर्मुज एउटा सामुिद्रक गल्ली मात्र होइन, यो भविष्यको युद्ध र शान्तिको सन्तुलन विन्दु पनि हो भनेर ।

प्रायः विश्व शक्तिहरूको नजर यहीँ अडिएको हुन्छ । किनभने संसारको ऊर्जा धड्कन यहीँ धड्किरहेको छ । विश्व राजनीतिको एक गलत झिल्कोले यहाँको पानी मात्र होइन, विश्वको अर्थतन्त्रमा नै भयङ्कर ठूलो आगो लगाउन सक्छ । स्ट्रेट अफ हर्मुज कुनै पनि देशको स्वामित्वमा नभए पनि सारा विश्वको भविष्य भने यहाँको स्थायित्वमा निर्भर छ । जब तपाईं गाडीहरू गुडिरहेको, हवाई जहाज उडिरहेको, उद्योगहरू धुवाँ उडाउँदै उत्पादन गरिरहेको देख्नुहुन्छ तब सबैको मुटु त्यही स्ट्रेट अफ हर्मुजमा धड्किरहेको भनेर सम्झनुहोस् जहाँको ऊर्जाबाट संसारले सास फेरेको छ ।