मुखको संक्रमणले मुटुलाई खतरा

0
Shares

खराब मुख स्वास्थ्यले गम्भीर समस्या निम्त्याउन सक्छ । जसमा मुटु असफलता (हर्ट फेल्योर) समेत पर्दछ । गिजासम्बन्धी रोग र मुखभित्रका संक्रमणहरूले शरीरमा सुन्निनु (इन्फ्लेमेसन) बढाउँछन् र हानिकारक ब्याक्टेरिया रगतमा प्रवेश गर्न सक्छन् । रगतमा पुगिसकेपछि ती ब्याक्टेरिया रक्तनलीको भित्तामा टाँसिन सक्छन् र मुटुसम्म पुग्न सक्छन्, जसले मुटु आघात (हर्ट अट्याक), स्ट्रोक, र इन्फेक्टिभ एन्डोकार्डाइटिस जस्ता प्राणघातक रोगहरू उत्पन्न गर्न सक्छ ।

मुखभित्र लामो समयसम्म जम्मा भएको दाँतको फोहोर (प्लाक) ले निम्त्याउने गम्भीर गिजा रोग ‘पेरियोडोन्टाइटिस’ यस्तो समस्याको प्रमुख कारण मानिन्छ । यदि गिजा पहिल्यै अस्वस्थ भइसकेको छ भने दाँत माझ्दा, फ्लस गर्दा वा खाँदा समेत ब्याक्टेरिया सजिलै रगतमा प्रवेश गर्न सक्दछ । यसले शरीरमा निरन्तर प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्छ, जसले सुन्निनुलाई सहयोग गर्छ । यसरी सुन्निनुले रक्तनलीहरूलाई क्षति पु¥याउँछ र मुटु रोग विकसित हुने सम्भावना बढ्छ । अनुसन्धान अनुसार गिजा रोग भएका व्यक्तिहरूलाई मुटु रोग हुने सम्भावना सामान्यभन्दा झन्डै दोब्बर हुन्छ । त्यस्तै, धूम्रपान, खराब खानपान र मधुमेह (डायबिटिज) जस्ता अन्य कारकहरूले पनि मुख र मुटु स्वास्थ्य दुवैमा असर पु¥याउँछन् ।

अनुसन्धानकर्ताहरूका अनुसार मुखको माइक्रोबायोममा परिवर्तन (जहाँ खराब ब्याक्टेरियाहरूको संख्या राम्रा ब्याक्टेरियाभन्दा धेरै हुन्छ) ले सुन्निनुलाई बढावा दिन सक्छ र धमनीमा क्षति पु¥याउन सक्छ । यद्यपि दाँत माझ्ने वा फ्लस गर्ने बानीले सबै प्रकारका मुटु रोग रोक्दैन । यो साधारण तर प्रभावकारी उपाय हो, जसले समग्र स्वास्थ्य जोखिम घटाउँछ । नियमित दन्त परीक्षण, गिजा रोगको सुरुआती उपचार, जिब्रो सफा गर्ने जस्ता बानीहरूले निकै सहयोग पु¥याउँछन् । अहिले डाक्टर र दन्त चिकित्सकहरू एकअर्कासँग अझ नजिक हुन थालेका छन् । दन्त चिकित्सकहरूले मुटु जोखिम परीक्षण गर्न थालेका छन् भने कार्डियोलोजिस्टहरूले पनि बिरामीको मुख स्वास्थ्यबारे चासो राख्न थालेका छन् ।
(स्वास्थ्य विशेषज्ञको सहयोगमा)