कहिलेकाहीँ जीवनले यस्ता पाना पल्टाउँछ, जुन पढ्दा पनि विश्वास गर्न गा¥हो लाग्छ । यथार्थभन्दा पनि अनौठा, सपना जस्ता लाग्ने ती क्षणहरू सधैँ हाम्रो सोचभन्दा माथि हुन्छन् । त्यस्तै, एउटा यथार्थभन्दा परको कथा हो “सिट ११ए” । एउटा यस्तो सिट जसले दुई जीवन बचायो र सयौँ मृत आत्माहरूबीच दुईजनाले मात्र जीवनदान प्राप्त ग¥यो । संयोग मात्र हो कि कुनै अदृश्य शक्तिको खेल भन्ने कौतुहलता यसले बढाइदिएको छ ।
कुरा सन् १९९८ को हो । थाइल्यान्डको आकाशमा थाइ एयरवेज टीजी २६१ उडिरहेको थियो । सबै सामान्य नै थियो । सम्मानित गायक तथा अभिनेता रुआङसाक लोयचुसाक पनि उडानमा सवार थिए । उनी सिट ११ए मा बसेका थिए । त्यतिबेला २० वर्षका उनी जीवनको उत्कर्षमा थिए । तर, आकस्मिक रूपमा विमान दलदली क्षेत्रमा झरेर दुर्घटनामा प¥यो । एकैक्षणमा १०१ यात्रुहरूको ज्यान गयो । समाचारमा रुआङसाक पनि मृत घोषित भनिए । तर, चमत्कार भयो, उनी बाँचे । त्यो चमत्कारले उनलाई बचाए पनि भित्रभित्रै भत्काइदियो । उनलाई रातभर निन्द्रा नलाग्ने, हवाईजहाज देख्दा शरीर काँप्ने मानसिक रोगी जस्तो बनाइदियो । उनले १० वर्षसम्म कुनै विमान चढेनन् । त्यो सिट, त्यो क्षण सधैँ उनको मनमा बाँकी रह्यो, एउटा अनुत्तरित प्रश्न भएर ।
२७ वर्षपछि २०२५ जुन १२ को दिन, भारतको अहमदाबादबाट उडेको एयर इन्डिया एआई १७१ उडान एउटा अकल्पनीय दुर्घटनामा प¥यो । विमानले २ सय ४१ यात्रु लिएर उडेको थियो, तर जमिनमा झ¥यो भग्नावशेष बनेर । टिभी, रेडियो, सामाजिक सञ्जाल सबैतिर एउटै खबर गुञ्जियो “एक व्यक्ति चमत्कारपूर्वक बाँचे ।” ती हुन् विश्वास कुमार रमेश । तर, सबैभन्दा झस्काउने कुरा त के भने उनी पनि ११ए सिटमा नै बसेका थिए ।
जब रुआङसाकले यो सुने, उनका रौँ ठाडो भयो । उनले ट्विटरमा लेखे–“भारतमा एक व्यक्ति बाँच्यो, उ पनि मेरो सिटमा बसेको रहेछ । मेरो समवेदना सबैप्रति जसले आफन्त गुमाए ।” के यो केवल संयोग मात्र थियो त । दुई फरक देश, दुई दुर्घटना तर एउटै सिटमा बसेका दुई मानिस चमत्कारपूर्वक बाँच्ने घटनामा विज्ञान मौन भएको छ अनि तर्क निष्प्रभ । ११ए अब केवल सिट मात्र होइन, जीवन र मृत्युलाई अलग पार्ने एक अदृश्य सीमारेखा जस्तै भएको छ । रुआङसाकका लागि यो खबर केवल समाचार थिएन । त्यो त पुरानो पीडाको ढोका फेरि खुल्नु थियो । शरीरभरी केही चल्यो, म फेरि त्यही दिनमा फर्किएँ भनेर उनले लेखेका छन ।
संयोग र भाग्यको बीचको भिन्नता कहिल्यै स्पष्ट हुँदैन । तर, कहिलेकाहीँ, कुनै अंक, जस्तै ११ए ले अहिले इतिहासमा यति गहिरो छाप छोडेको छ कि त्यसलाई सामान्य भन्नै सकिन्न । सायद त्यो सिट जीवनको नाजुकताको प्रतीक हो । हामी जहाँ मर्न सक्छौँ, त्यहीँ फेरि बाँच्न पनि सक्छौँ । अन्ततः, रुआङसाक र विश्वासको कथाले हामीलाई भाग्य कतिसम्म विचित्र हुनसक्छ भनेर सम्झाउँछ । दुई अपरिचित आत्मा, दुई टाढाका देश तर एउटै त्रासदीको छायाँबाट फर्किएका एउटै चमत्कार अनि एउटै सिट ११ए ।
प्रतिक्रिया