नेपालका यी सुन्दर विद्यालयको नियति : भारतीय विद्यालयमा पढ्न बाध्य छन् नेपाली विद्यार्थी

1.69k
Shares

इलाम।

भारतसँग सीमा जोडिएका उत्तरी इलामका अधिकांश विद्यार्थीहरू भारतका विभिन्न बिद्यालयमा अध्ययन गर्न बाध्य छन् । सो क्षेत्रमा रहेका तीनवटा प्राथमिक तहका विद्यालयहरू बन्द भएपछि अभिभावकले आप्mना छोराछोरीलाई भारतका विभिन्न विद्यालयमा प्राथमिक तहबाटै भर्ना गराएर पढाउँदैछन् ।
जिल्लाको माइजोगमाई र सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी, तुम्लिङ, मेघ्मा, कालापोखरी, सन्दकपुर क्षेत्रमा विद्यालय जाने उमेरका विद्यार्थीहरू यतिखेर गाउँमा पाउन मुस्किल छ । सबै विद्यार्थीहरू भारतको मानेभञ्ज्याङ, सिलगुडी, दार्जिलिङ, कोलकत्ता विभिन्न विद्यालयमा अध्ययनरत छन् । उनीहरूका साथमा एकजना अभिभावक पनि सँगै छन् ।

सन्दकपुर गाउँपालिका ४ कालापोखरीका मिङगुु शेर्पाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘गाउँमा एउटा विद्यालय छैन, अर्काको देशमा बच्चा पढाउनु पर्दा नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषय नेपाली बालबालिकाले थाहा नपाउने, नेपाली राष्ट्रिय गान गाउन जान्दैनन्, भारतीय राष्ट्रिय गान गाउँदा मनै दुखेर आउँछ, तर के गर्नु हाम्रो बाध्यता छ ।’सो क्षेत्रहरू पर्यटकीय दृष्टिकोणले निकै अब्बल छन् । अधिकांशले होटल व्यवसाय गरेका छन् । होटल चलाउन नसक्नेले पनि अरूको घरमा मजदुरी गरेर पनि छोराछोरीलाई भारतका महंगा महंगा विद्यालयमा पढाउँदै आएका छन् ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय विद्यार्थी अभावको कारण देखाएर बन्द भएको आठ वर्ष भयो । यो विद्यालयमा ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्दथे, तर विस्तारै विद्यार्थी घटेपछि विद्यालय बन्द गर्न बाध्य भएको सन्दकपुर गाउँपालिकाका शिक्षा अधिकृत ध्रुव सेजवालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस क्षेत्रका मानिसको आर्थिक श्रोत बलियो छ, यहाँका अभिभावकले आफनो बालबच्चालाई सुविधा सम्पन्न ठाउँका रूपमा भारतका विभिन्न विद्यालयमा भर्ना गरिदने हुँदा विद्यार्थी अभाव भएको हो ।’

पातलो बस्ती जनघनत्व पनि कम भएको यस ठाउँका मानिसहरूसमेत भारतकै विभिन्न ठाउँमा बसाई सरेर जाने क्रम पनि बढेको छ । त्यहाँ बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् भने बन्द भएका केही विद्यालय भवनमा प्रहरी चौकी राखिएको छ । अभिभावकले आफना छोराछोरी भारत र काठमाडौंका विद्यालयमा पढाउन थालेका यस क्षेत्रमा विद्यार्थी पाउनै समस्या भएको जानकारी दिँदै कालापोखरीका पूर्व शिक्षक पेम्बा शेर्पाले भन्नुभयो–‘भारतको इतिहास र भूगोलबारे पढ्नुपर्ने बालबालिकालाई आफ्नै देश नेपालको नक्सा कस्तो छ भन्नेसम्म थाहा छैन, उनीहरू नेपाली भाषासमेत त्यति राम्ररी बोल्न जान्दैनन् ।’ शिक्षा, स्वास्थ्यको पहुँचबाट समेत सीमावर्ती क्षेत्रका बासिन्दा टाढा रहेको जिकिर गर्दै कालापोखरीका छिरिङ शेर्पा भन्नुहुन्छ –‘तीनै तहका सरकारले गम्भिर रूपमा नसोचे सीमावर्ती क्षेत्रका बस्तीमा केवल मानिस बिनाका घरहरूमात्र बाँकी रहने निश्चित छ ।’

सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले सीमा क्षेत्रका विद्यालय सञ्चालनका लागि पालिकाले पहल गरे पनि यस क्षेत्रका अधिकांश अभिभावकले आप्mना बच्चालाई सुविधा सम्पन्न ठाउँका विद्यालयमा लाने गरेकाले विद्यार्थी नहुने समस्याकै कारण विद्यालय सञ्चालनमा चुनौती भएको बताउनुभयो ।