अख्तियारले छानबिन गर्दै
सल्लाहकारकै कारण बयानमा धाइरहनुपरेको कर्मचारी दुखेसो
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रका अवैतनिक पूर्वाधार सल्लाहकार सुनिल लम्सालले चढ्ने सवारी साधनका लागि तीन वर्षमा २ हजार २ सय ८० लिटर पेट्रोल खर्च भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ९ गते सल्लाहकाद्वय लम्साल र कुमार ब्यञ्जनकारको नियुक्ति प्रक्रियादेखि हालसम्म पाएको सबै सुविधाका साथै विज्ञ हुने योग्यतालगायत सबै विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएपछि उक्त जानकारी अख्तियारलाई प्राप्त भएको हो ।
अख्तियारमा पुगेको पत्रमा लम्सालले चढ्ने बा १ झ २७२९ नम्बरको सुजुकी कम्पनीको बोलेनो कारमा उक्त परिमाणमा पेट्रोल खर्च भएको उल्लेख छ । हालसम्मको अवधिमा मेयर साहका अर्का सल्लाहकार ब्यञ्जनकारले कुनै पनि सुविधा लिएको प्रमाण फेला परेको छैन ।
वातावरणदेखि पूर्वाधार हुँदै मेयरस्तरीय निर्णयबमोजिम गठन भएको बोलपत्र कागजात समीक्षा समितिका संयोजक पूर्वसचिव शंकरप्राद पाण्डेको संयोजकत्वको समितिमा समेत हालिमुहाली गरेका लम्सालले सो समितिको ८६ वटा बैठकबाट १ लाख ७२ हजार रुपियाँ बुझेको पाइएको छ ।
स्रोतका अनुसार लम्सालले सो समितिबाट बैठकबापत करकट्टी गरेर १ लाख ४६ हजार २ सय रुपियाँ लिएको खुलेको छ । उहाँको बोलेनो कार मर्मतमा २ लाख ७५ हजार रुपियाँ खर्च भएको पत्रमा उल्लेख छ । स्रोतले दिएको जानकारीअनुसार अख्तियारले मेयर साहको सचिवालयमा परेको करार सेवामा कार्यरत कर्मचारीहरूले नियमविपरीत नियुक्ति पाएको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगले कामपा मेयर सचिवालयमा पत्र पठाएको थियो ।
यसैबीच लम्सालकै जोडबलमा आफन्त पर्ने पूर्वसचिव पाण्डेलाई बोलपत्र कागजात समितिको संयोजक बनाइएको थियो । नियमविपरीत गठन गरिएको सो समितिमा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी, कानुन विभाग प्रमुख वसन्त आचार्य र खरिद इकाई प्रमुख रामरतन साह सदस्य छन् ।
सो समितिलाई कामपाअन्तर्गत विभिन्न बजेट शीर्षकबाट खर्च हुनेगरी स्वीकृत वार्षिक खरिद योजनाअनुसार खरिद गरिने कार्यको लागि बोलपत्र, प्रक्रियाअनुसार सूचना आह्वान गर्नुपूर्वको तयारी सम्बन्धमा कागजात समीक्षा गर्ने कार्यादेश दिइएको छ ।
मेयर बालेन्द्र साहले विभागीय प्रमुखको अधिकार कटौती गर्दै सो समितिलाई कानुनविपरीत सबै अधिकार दिएको खुलेको छ । सो समितिको समेत सदस्य रहनुभएका लम्सालले आफूले ती सुविधा नलिएको दाबी गर्नुभएको थियो । तर, सो दाबीविपरीत रकम बुझेको प्रमाण अख्तियारमा पुगेको छ ।
कामपाले केही दिनअघि वित्त, वातावरण व्यवस्थापन विभाग, मेयर सचिवालय र अन्य विभागसँगसमेत समन्वयन गरी लम्सालसँग सम्बन्धित पत्र आयोगमा पठाएको थियो । सो पत्रका आधारमा आयोेगले थप छानबिन गर्ने तयारी गरेको छ । लम्साल र ब्यञ्जनकारविरुद्ध अख्तियारले पत्र पठाए पनि लम्साल र मेयर सचिवालयमा आउनुभएको छैन । उच्चस्रोतका अनुसार लम्साललाई हिजो बुधबार अख्तियारले बोलाएको थियो । अर्का मेयरका व्यवस्थापक सल्लाहकार ब्यञ्जनकारलाई बोलाउने तयारी भइरहेको छ ।
कामपा स्रोतका अनुसार सल्लाहकारद्वय लम्साल र ब्यञ्जनकारले कामपाको ठेक्का मिलाउने, विभिन्न विभागमा हस्तक्षेप गरी अनधिकृत रूपमा काम गराउने गर्नुभएको छ । लम्सालकै कारण मेयर साह विभिन्न टेन्डरमा बदनाम हुनुभएको छ भने कामपाका एक दर्जन कर्मचारी आयोगमा बयान दिन धाइरहेका छन् ।
कामपाका अधिकांश उच्च कर्मचारीको भनाइ छ–‘कुनै पनि निर्णय गर्दा उहाँहरूको हस्ताक्षर हुँदैन । हामीले हस्ताक्षर नगरे सचिवालयको नाममा धम्की आउने गरेको छ ।’
अवैतनिक सल्लाहकारको हैसियतमा लम्साल र ब्यञ्जनकार फ्रान्स भ्रमण गएको विषय चर्चामा आएपछि अख्तियारले दुई जनाको विषयमा छानबिन शुरू गरेको हो ।
वातावरण र पूर्वाधार विज्ञ सल्लाहकार लम्सालको विज्ञ बन्नका लागि योग्यता पुगे नपुगेको पनि अख्तियारले अनुसन्धान गर्दैछ । अख्तियारले विभिन्न सामाजिक सञ्जालमा मेयर साहको स्टाटस पोस्ट गर्ने ब्यञ्जनकारको नियुक्ति र योग्यताको विषयमा समेत प्रश्न सोधेको छ ।
प्रतिक्रिया