मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की 

छोराले गरे हातपात 


काठमाडौँ। 

धनुषा स्थित विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दासले नगरपालिकामा आतङ्क मच्चाएका छन् । मेयर दासले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई गोली हानेर उडाइदिने धम्की दिएका छन् भने निज मेयरका छोरा रामभजन दासले  प्रमुख प्रशासकीय अधिकृत साहमाथि हातपात नै गरेका छन् । 

 आफूमाथि हातपात भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत साहले सुरक्षाको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन् । साहले हातपात गर्ने मेयरका छोरा र गोलीले उडाइदिने धम्की दिने मेयर दासमाथि उचित कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका हुन् । 

 पिडित प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार मेयर बेचनका छोरा रामभजनले शिक्षा सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउँदा तैले यसलाई किन हाजिर गराइस् भन्दै धाक धम्की , गाली गलौज गर्दै साहलाई उहाँकै कार्यकक्षमा कुटपिट गरेका थिए । 

साहले आफूमाथि कुटपिट भएको जानकारी धनुषा प्रहरी प्रमुखलाई दिएका थिए। त्यसलगत्तै प्रहरी कार्यालयमा भएको छलफलका क्रममा मेयर बेचनले प्रहरी जवानद्धय विकास बस्नेत, विकास कुमार राय तथा  विनपा ७ का वडा अध्यक्ष राजकिशोर सिंहकै अघि  निज मेयर वेचन दासले प्रमुख प्रशासकीय अधिकृतलाई धक्काउदै मलाई गाली गर्नेलाई गोली हान्छु र मलाई कुनै कानुनले रोक्न सक्दैन भन्दै  धम्की दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत साहले मेयरबाटै आफूलाई ज्यान मार्ने धम्की आएको र उनका छोराले कुटपिट गरी आतंकित पारेकाले मेयर र उनका छोरा  गरी दुवै जनालाई पक्राउ गरी उचित कारबाही गर्न तथा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुरक्षित साथ काम गर्न पाउने वातावरण मिलाइदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताए । जिल्ला प्रशासन कार्यालय धनुषाले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानबिन गर्न नसकेको भन्दै  नगरपालिकाका अन्य कर्मचारीले  गुनासो गरेका छन् ।