महिला फुटबल च्याम्पियनसिपको तयारी पुरा


काठमाडौं ।


अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी फागुनमा हुने चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको छ । मंगलबार सोल्टीमोडस्थित ‘होटल क्राउन इम्पेरियल’मा आयोजित पत्रकार सम्मेलनमा एन्फाले फागुन ५ गतेदेखि हुने प्रतियोगिताबारे जानकारी गराएको हो ।

एन्फाले टिकट विक्री अधिकार एक करोड ३५ लाख र प्रशारण अधिकार ६६ लाखमा बिक्री गरेको छ । छ्ट्टाछुट्टै टेन्डरमार्फत बिक्री गरेको अधिकारअनुरुप एन्फाले प्रतियोगिताको टेलिभिजन प्रशारण, बजार, टिकट र डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिक प्रा.लि.लाई दिइसकेको छ ।

मंगलबार मात्रै एन्फाले टिकट साझेदारीको रूपमा अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीलाई भित्र्याएको छ । प्रतियोगिताको टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै एन्फाले सहभागी टोली शुक्रबार सम्म काठमाडौं आइपुग्ने बताएको छ । यी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान प्रयोग गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट दुई करोड ५० लाख ७६ हजार चानचुन रहेको एन्फाले जनाएको छ ।

एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।