अन्तर्राष्ट्रिय खेलकुद जगतमा सन् २०२४ लाई फर्केर हेर्दा

376
Shares

सन् २०२४ मा पनि यसअघिका वर्षहरूमा झैँ अन्तर्राष्ट्रिय खेलजगतमा थुप्रै गतिविधिहरू भएका छन् । ती मध्येका अत्यधिक दर्शक रहेको केही प्रतिष्ठित प्रतियोगिताहरू निम्नानुसार छन् ।

पलेशालाई ऐतिहासिक पदक

सन् २०२४ को २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा भएको १७औं ग्रीष्मकालीन पारालिम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल भइन् ।

उनले जितेको उक्त कांस्य पदक नेपाली खेलकुद इतिहासकै अहिले सम्मको सबैभन्दा उच्चस्तर पदक हो । तेक्वान्दोको के–४४ क्याटगोरीको महिला ५७ केजी मुनि तौल समूहमा पलेशा नेपालको लागि पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइुन् । कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।

त्यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गरेकी थिइन् । सेमिफाइनलमा पलेशा विश्वका नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् ।
३३औं संस्करणको ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा

गत जुलाई २४ देखि १९ दिनसम्म चलेको पेरिस ओलम्पिकमा अमेरिकाले पदक तालिकाको शीर्ष स्थान ओगट्यो । कुल १ हजार ३३ पदकका लागि विश्वका २ सय ६ राष्ट्रका १० हजारभन्दा बढी खेलाडीले विभिन्न ३२ खेलका ३ सय २९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । जसमा अमेरिकाले पहिलो स्थान हासिल गर्न सफल भयो ।

अन्तिम दिनसम्म दोस्रो स्थानमा रहेको अमेरिकाले चीनसँग स्वर्ण पदकमा बराबरी गरेपनि सर्वाधिक पदक जितेको आधारमा अमेरिका शीर्ष स्थानमा रहँदा चीन दोस्रो स्थानमा रह्यो । अमेरिका र चीनले समान ४० स्वर्ण पदक जितेका थिए । शीर्ष स्थानको अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल १२६ पदक जित्यो ।

त्यस्तै, दोस्रो स्थानको चीनले ४० स्वर्ण २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जित्यो । तेस्रो स्थानको जापानले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जित्यो । अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो स्थानमा रह्यो । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण सहित पाचाँक्क्ै स्थान हासिल ग¥यो ।

नेदरल्यान्ड्स छैटौँ, बेलायत सातौँ, दक्षिण कोरिया आठौँ, इटाली नवौँ र जर्मनी दशौं स्थानमा रहे । पेरिस ओलम्पिक २०२४ मा सहभागी २०६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका थिए भने ९१ देशले पदकको खाता खोल्न सफल भए ।

भारत दोस्रो पटक विश्वकप च्याम्पियन

सन् २०२४ मा भारत दोस्रो पटक आइसीसी टि–ट्वान्टी विश्वकप च्याम्पियन बन्यो । १ देखि २९ जुनसम्म वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको उक्त विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टि–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाएको थियो । यसअघि भारतले सन् २००७ मा पहिलो पटक यो उपाधि जितेको थियो ।

स्पेन चौथो पटक युरो कप च्याम्पियन


१४ जुनदेखि १४ जुलाईसम्म जर्मनीमा भएको युरोकपमा स्पेन चौथो पटक उपाधि जित्न सफल भयो । बर्लिनमा भएको फाइनलमा इंग्ल्यान्डमाथि २–१ गोलअन्तरको जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको थियो । प्रतियोगितामा २४ टिमहरूले भाग लिएका थिए । यसपटक छनोट चरण पार गरेर जर्जियाले पहिलो पटक उक्त प्रतियोगिता खेलेको थियो ।
अर्जेन्टीनाद्वारा कोपा अमेरिका उपाधि रक्षा


अमेरिकामा २० जुनदेखि १४ जुलाईसम्म भएको कोपा अमेरिका प्रतियोगितामा अर्जेन्टिनाले उपाधि रक्षा ग¥यो । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलअन्तरले हराएको थियो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा विजयी गोल गरेका थिए । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । सन् १९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि जितेको थियो ।
रियल १५औँ पटक च्याम्पियन
२०२३–२४ सिजनको युएफा च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल मेड्रिडले उचाल्यो । यो समेत रियलले १५ औं पटक उक्त उपाधि जितेको हो । लन्डनको वेम्बली स्टेडियममा खेलिएको फाइनलमा रियल मड्रिडले जर्मनीको बोरुसिया डर्टमन्डलाई २–० गोलअन्तरले हराएर थियो । यो सिजन २००३–०४ संस्करणबाट लागू गरिएको ३२ टिमको समूह चरणको प्रारूप अन्तिम बन्यो ।
एट्लान्टा पहिलो पटक युरोपा लिग विजेता
२०२३–२४ सिजनको युईएफा युरोपा लिगको उपाधि इटालियन सीरी ए क्लब एटलान्टाले जित्यो । एटलान्टाले यो उपाधि पहिलो पटक जितेको हो । युरोपको दोस्रो प्रतिष्ठित क्लब फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा एट्लान्टाले जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोलअन्तरले हराएको थियो । एटलान्टा सन १९९९ मा पार्माले जितेपछि यो प्रतियोगिता जित्ने पहिलो इटालियन टिम बन्यो ।