युवा पुस्ताको भरोसा र समर्थनको जगमा छोटो समयमै प्रभावशाली राजनीतिक पार्टीको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकै कारण थला पर्न थालेको छ । पार्टी गठन भएको साढे २ वर्षमै सभापतिसहित पार्टीको कामका लागि महत्वपूर्ण मानिएको महामन्त्री र प्रवक्ता गरी तीनवटै पद कार्यबाहकको काँधमा पुगेको छ ।
गत असारमा तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको थियो । त्यसमाथि गत सोमबार पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएपछि डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति लामिछानेले दुई महिना हिरासतबाटै पार्टी चलाएका थिए ।
दुई पटक मन्त्री भइसकेका अर्याल उपसभापति हुन् भने बुर्लाकोटी सहमहामन्त्री र झा केन्द्रीय सदस्य हुन् । पार्टीका उपसभापति अर्यालले सभापतिमा रविको विकल्प नभएको अभिव्यक्ति दिँदै आएका थिए भने कांग्रेसबाट रास्वपामा प्रवेश गरेसँगै रविबाट विपि कोइरालाको झल्को आएको अभिव्यक्ति दिएपछि डा.स्वर्णिम वाग्लेलाई रविले दोस्रो उपसभापति बनाएका थिए । यद्यपि पार्टीको कार्यबाहकको जिम्मेवारीमा आउनका लागि उनले गरेको भगीरथ प्रयत्न खेर गएको छ ।
पार्टीका तत्कालीन महामन्त्री ढकाललाई गत असार २० गते रास्वपाले पदबाट निलम्बन गरेको थियो । पछि अनुशासनहीन व्यवहार गरेको भन्दै थप कारबाही गरेको थियो । उनले देशभर घुमेर रास्वपाको स्थितिबारे समीक्षा यात्रा प्रतिवेदन तयार पाएका थिए । तर, त्यसबारे कुरा राख्न नपाएको, पर्याप्त छलफल नभएको भन्दै उनी केन्द्रीय समिति बैठकमा कालो टेप लगाएर समेत बसेका थिए ।
आफूलाई सभापति लामिछाने लगायत केही नेताहरूले ‘ह्यारेसमेन्ट’ गरेको भन्दै बैठकको बीचबाटै बाहिरिएर नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । पहिले गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएका लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको उनको आरोप थियो । यसपछि उनको महामन्त्री र प्रवक्ताको जिम्मेवारी खोसिएको थियो ।
पहिले मुकुल रविको विश्वास पात्रका रूपमा चिनिन्थे । रविलाई सघाउन उनी अस्पतालको जागिर छाडेर राजनीतिमा आएका थिए । २०७९ सालमा उनी ललितपुरको मेघा अस्पतालमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । कालिकोटमा रास्कोट अस्पताल बनाउने योजना पहिले उनकै थियो । लामिछानेलाई उनले त्यसबारे सुनाएपछि दुई जनाको दोस्ती बढेको थियो । लामिछानेले टेलिभिजन कार्यक्रम छाडेर २०७९ असारमा रास्वपा स्थापना गर्नुअघि उनीसँग पार्टी राजनीतिमा आउन प्रस्ताव गरे ।
अस्पतालको जागिर छाडेर आफूलाई साथ दिएपछि लामिछानेले मुकुललाई महामन्त्रीको महत्त्वपूर्ण जिम्मेवारी समेत दिए । रास्वपाले मंसिरको चुनावमा प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपा २१ सांसदसहित अप्रत्यासित सफलता सहित प्रतिनिधिसभाको चौथो ठूलो दल बन्यो । शुरूमा सभापति लामिछाने र महामन्त्री ढकालको जोडी जमे पनि यो बीचमा लामिछाने सहकारी ठगीको मुद्दामा हिरासतमा पुगिसकेका छन् भने ढकालले लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीबाट बाहिरिइसकेका छन् ।
प्रतिक्रिया